रूकुम पूर्वमा भएको जीप दुर्घटनामा परी जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित चारजना घाइते भएका छन्।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा चार जना घाइते भएका हुन्।
जीप दुर्घटना हुँदा प्रहरीका डिएसपी प्रकाश डाँगीसहित चार जना घाइते भएका हुन्।
प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई जना डिएसपी घाइते छन्। प्रहरीतर्फ डाँगी र सशस्त्र प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते छन्।
डिएसपी डाँगीको टाउकोमा चोट लागेको रूकुम-पूर्वका प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए। यता श्रेष्ठ भने सामान्य घाइते छन्।
दुर्घटनामा परी प्रहरी जवान लक्ष्मण पुन गम्भीर घाइते छन्।
घाइतेमध्ये गम्भीर प्रहरी जवानलाई थप उपचारका लागि अस्पताल पुर्याउन नेपाली सेनाको हेलिकप्टर रूकुम पुगिसकेको छ।
प्रजिअ सुनुवारले घाइतेलाई आफूले हेलिकोप्टरमार्फत अस्पताल पठाउने तयारी गरिरहेको जानकारी दिए।
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलतर्फ पठाइएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार डिएसपीसहितको टोली तकशेरमा निरीक्षणमा जाँदै थियो। सो गाडी बिहान ११ बजे दुर्घटनामा परेको कार्यालयले बतायो।
डिएसपी डाँगीले सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै आफू ठीक रहेको र उपचारको लागि अस्पताल जाँदै गरेको जानकारी दिए।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले गाडीमा सवार सबै छ जना घाइते भएको सेतोपाटीलाई बताए।
घाइते मध्ये प्रहरी जवान सन्तोष बुढा र लक्ष्मण पुनलाई हेलिकप्टरमार्फत बाँकेको नेपालगञ्ज तर्फ लगिएको छ।
दुर्घटनाका घाइते प्रहरी जवान मध्ये प्रहरी हवल्दार तथा चालक कुमारसिंह डाँगी पनि गम्भीर छन्। उनलाई नेपालगञ्ज लैजान फेरि हेलिकप्टर आउने उनले बताए।