चितवनमा श्रीमतीले अचानोले टाउकोमा हान्दा श्रीमानको मृत्यु भएको छ।
भरतपुर-२१ पार्वतीपुर बस्ने ५६ वर्षीय टिकाराम विकको टाउकोमा लागेको चोटका कारण मृत्यु भएको हो। उनी मंगलबार अपराह्न आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली पुग्दा विक मृत भेटिएका थिए।
ढोकाको चुकुल फुटाएर हेर्दा विक खुट्टाले भुइँमा टेकी टाउको र जीउको भाग खाटमा घोप्टो परेको अवस्थामा भेटिएको उनले बताए।
‘तालुको भागमा काटेको चोट थियो। काटेको चोटबाट अत्यधिक रक्तश्राव भई सिरानीमा जमेको अवस्थामा शव भेटिएको थियो,’ अधिकारीले भने।
प्रारम्भिक अनुसन्धानमा सोमबार बिहान १० बजेतिर श्रीमानश्रीमती बीच झगडा हुँदा ५४ वर्षीया श्रीमती बिनमाया विकले अचानोले टाउकोमा हान्दा उक्त चोट लागेको बुझिएको डिएसपी अधिकारीले बताए।
मृतककी श्रीमती बिनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको उनले बताए। मृतकको शव पोस्टमर्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।