दाङको टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयले विमानस्थलमा तालाबन्दी गरेका छन्।
उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन्।
आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरी, तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी लगायतको टोली एयरपोर्टमा पुगेको थियो।
विसं २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो। त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि, व्यावसायी सबै विरोधमा उत्रिएका हुन्।
त्यसक्रममा उपमेयर चौधरीले कुनै पनि हालतमा बाउजर मेसिन फिर्ता जान नदिने र त्यस्तो स्थिति उत्पन्न भए सर्वसाधारण नागरिकलाई साथमै लिएर सडकमै सुत्ने बताइन्।
वडाध्यक्ष खुसीराम चौधरीले पनि दाङको एक मात्र टरिगाउँ एयरपोर्टको विकासले विस्तारै गति लिइरहेको समयमा इन्धन भर्नका लागि आएको उपकरण फिर्ता लैजानु विकासमा भाँजो हाल्ने षडयन्त्र भएको बताए।
‘हामी यो उपकरण कुनै पनि हालतमा फिर्ता लैजान दिनेछैनौं,’ उनले भने, ‘बरू जस्तोसुकै संघर्ष गर्नुपरे पनि हामी तयार हुने छौं।’
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जनताको चाहना र भावना विपरितका कार्य भए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा राज्यले लिनुपर्ने बताए।
संघका महासचिव विनिल केसीले एयरपोर्ट सुरू भएको दशकौं पछाडि बल्ल तल्ल आएको इन्धन भर्ने बाउजर फेरि फिर्ता लैजाने कुराले जिल्लावासी निरास भएको बताए।
२०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर ल्याइएको थियो।
त्यही बाउजर पनि फिर्ता लैजाने भनेपछि स्थानीय आक्रोशित भएका हुन्।
यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले हवाई इन्धन डिपो कार्यालय दाङ तुलसीपुरका प्रमुख विपिन श्रेष्ठलाई ज्ञान पत्र बुझाएको छ।
बाउजर मेसिन फिर्ता लैजाने निर्णयको विरोधमा वाणिज्य संघका पदाधिकारीले प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन्।
अध्यक्ष रामप्रसाद चालिसे र महासचिव विनिल केसी लगाएतले टरिगाउँ एयरपोर्ट परिसरमै प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन्।