बाँके प्रहरीले नौ वर्ष बढी जेल सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रतिबन्धित लागुऔषध मुद्दामा अदालतले ९ वर्ष २१ दिन कैद तोकेको कोहलपुर नगरपालिका–१५ का ३२ वर्षीय अजयकुमार चौधरी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार जिल्ला अदालत बाँकेले २०७८ साल मंसिर ८ गते लागुऔषध मुद्दामा ९ वर्ष २१ दिन जेल सजाएको फैसला सुनाएको थियो।
त्यसयता फरार रहँदै आएका चौधरीलाई गोप्य सूचनाका आधारमा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तानीका लागि कारागार चलान गरिएको डिएसपी न्यौपानेले बताए।