कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक मंगलबार धरौटीमा रिहा भए।
मगरले पक्राउ परेका युवकलाई फसाएको भन्दै सामाजिक सञ्जालमा विरोध र काठमाडौंको चाबहिलस्थित केएल टावरमा प्रदर्शनसमेत भएको थियो। पक्राउ पर्नेमा मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङ थिए। उनी बौद्ध भिक्षु हुन्।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई ३ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। जबकि सोमबार मात्रै प्रशासन कार्यालयले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
घटना आइतबार दिउँसो करिब साढे २ बजे काठमाडौंको सिभिल मलमा भएको थियो। प्रहरीका अनुसार सिभिल मलको सातौं तलाको एउटा क्याफेमा घटना भएको थियो। तामाङले त्यहाँ अभद्र व्यवहार गरेको भन्दै प्रहरीलाई खबर गरी उनलाई बुझाइएको थियो।
उक्त घटनाबारे सोमबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएका छन्। त्यसैलाई आधार मानेर आलोचना हुन थालेको थियो।
एक प्रत्यक्षदर्शीका अनुसार घटना भएको स्थान र अहिले सार्वजनिक भएका फुटेजहरू फरक ठाउँका हुन्।
घटना क्याफेमा भएको र अहिले सार्वजनिक भएको भिडिओ हलबाट निस्किने बेलाको भएको उनको भनाइ छ।
‘अहिले बाहिर आएको फुटेजमा घटना भएको देखिन्न। घटना भएको क्याफेमा हो। जब उनले फ्यानसँग फोटोहरू खिचिरहेकी थिइन्,’ उनले भने, ‘त्यहीबेला दुर्व्यवहार भएको र थप्पड हिर्काएर, माफी माग्न लगाइएको हो। घटनापछि पनि ती युवकले मिरूनालाई छोएर आएँ भनेर हाँसिरहेको देखेपछि मात्रै फोन गरेर प्रहरीलाई बुझाइएको हो।’
मिरूनाले पनि एक अन्तर्वार्तामा आफूमाथि पटक-पटक छुने र चिमोट्ने गरेपछि मात्रै प्रतिकार गरेको बताएकी छन्।
‘मैले सुरूमा अगाडि फर्केर फ्यानहरूसँग फोटो खिचिरहेकी थिएँ। त्यतिबेला मलाई पछाडिपट्टी बाँयातिर छोएको महसुश भयो। त्यसपछि म अलिकति हच्किएँ। होइन होलाजस्तो पनि लाग्यो। एकचोटी भयो म अलिकति सरें। फेरि दोस्रो पटक अलि बढी भयो। त्यो पनि होइन होला नै सोचें। सार्वजनिक ठाउँमा त्यसरी हुन्छ भनेर सोचिँदैन नि त,’ उनले भनेकी छन्, ‘फ्यानहरूले पनि घेरेको बेला थियो। अनि फेरि तेस्रो पटकमा चाहिँ अलि साह्रै पक्रेर ‘पिन्च’ नै गरेर समात्यो।’
त्यसपछि अरू केही नसोची थप्पड हिर्काएको उनले बताएकी छन्।
‘त्यस्तो हुँदा मेरो शरीरको पहिलो प्रतिक्रियास्वरूप फर्केर मैले एक थप्पड हिर्काएँ। अनि त्यसपछि देख्दा भिक्षुको भेषमा हुनुहुन्थ्यो। त्यो देखेपछि अझै रिस उठेर आयो। म आफैं पनि बुद्धिस्ट हुँ। त्यसैले पनि धेरै रिस उठ्यो,’ उनले थपिन्।
तामाङलाई सबैको अगाडि माफी माग्न लगाएर आफू बाहिर आएको उनले बताइन्। तर पनि ती युवक हाँसिरहेको देखेपछि भने प्रहरीलाई बोलाउनु पर्ने ठानेर सम्पर्क गरेको उनले बताइन्।
‘तपाईंले यस्तो कपडा लगाएर गर्नुपर्छ। यसले यो कपडाकै अपमान भइरहेको छ। आइन्दा कसैलाई पनि छुने होइन भनेर औंला ठड्याएर नै गाली गरेर सरी भनेर उसले कान पनि समात्यो, छाड्न खोजेको पनि हो। त्यसपछि म सहन नसक्ने भयो। लाज पनि भयो, मलाई लाज हुने कुरा त होइन तर लाज भयो। अनि बाहिर गएर रोएँ एकछिन,’ उनले थपिन्, ‘सही भएन भन्ने लाग्यो। मैले बुझ्दाखेरी ती मान्छे त्यहीँ आनन्दले डुलिरहेको त्यस्तो देखेपछि चित्त बुझेन अनि कानुनको सहायता लिनुपर्छ लागेर मैले प्रहरीलाई सम्पर्क गरेर बुझाएको हो।’
यस घटनामा केही नभएको भए पीडित प्रहरीको सम्पर्कमै नआउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
‘घटनामा केही न केही भएको हुनाले त जाहेरी आयो। त्यसपछि हामीले अनुसन्धान गर्यौं र अहिले धरौटीमा छुटे,’ उनले भने, ‘यसमा पछि फैसला होला। अहिले अरू नभनौं।’
पक्राउ परेका व्यक्तिले अभिनेत्रीमाथि ‘ब्याड टच’ गरेको प्रहरी स्रोतले दाबी गर्यो।
‘बाहिर आएजस्तो कुराहरू होइनन्। ती व्यक्तिले ब्याड टच गरेको हाम्रो अनुसन्धानबाट देखिन्छ,’ स्रोतले भन्यो, ‘अनुसन्धानचाहिँ सकिएको छैन।’