आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो।
जहाज दुर्घटनामा ज्यान गुमाएका राजनकुमार गोले राजनीति गर्थे। मिथिलाका मेयर महेन्द्र महतोले आफू र राजकुमार साथी भएको बताए। दुर्घटनाको खबरपछि उनी अहिले गोलेको घर पुगेका छन्।
लामो समय नेकपा एमालेको राजनीति गरेका गोले एमाले विभाजन भएसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागे।
एकीकृत समाजवादी उनी अहिले मधेस प्रदेश कमिटी सदस्य थिए।
काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजकुमारले केही दिनअघि परिवारका वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए। बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ जाने भए। गाउँमा उनीहरूको घर सँगसँगै छ।
शुक्रबार धनुषाबाट काठमाडौं आएका उनीहरू शनिबार पोखरा पुगेका थिए।
जहाज दुर्घटनाको खबरले गाउँ नै स्तब्ध छ।
‘अब उहाँहरूको शव ल्याउन र परिवारलाई अरू कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे हामी छलफल गर्दैछौं,’ मेयर महतोले भने।
राजकुमारका श्रीमती र दुई छोराछोरी छन्।