नेपाली कांग्रेसको ‘रूख’ चुनाव चिन्हमा भोट हालेको आरोपमा सल्यानमा नेपाली कांग्रेसका व्यक्तिमाथि कुटपिट भएको छ।
मध्यरातमा एक जना महिला माथि नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका नेतामाथि आक्रमण गर्नुको साथै एक महिलामाथि करणीको प्रयाससमेत भएको खुल्न आएको प्रहरीले जनाएको छ।
कुटपिटबाट त्रिवेणी गाउँपालिका वडा नं. २ राधागिटीका ३७ वर्षीय खिमबहादुर पुन घाइते भएका छन्।
लाठी प्रहारबाट पुनको टाउको र शरीरमा घाउखत लागेको छ।
जिल्ला अस्पताल सल्यानको उपचारपछि घाइते पुनलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ।
पुन र उनको परिवारमाथि अनाहकका आक्रमण गर्ने तथा बलात्कारको प्रयास गर्नेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा एमालेका कार्यकर्ताहरू त्रिवेणी–२ राधागुटीका २४ वर्षीय शोबबहादुर पुन, ३० वर्षीय जोगेन्द्र नेपाली, ४५ वर्षीय इन्द्रबहादुर पुन र एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।
त्यस्तै, त्रिवेणी–२ राधागुटीकै २० वर्षीय जीवन नेपालीविरूद्ध भने कुटपिटका साथै जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको डिएसपी खड्काले जानकारी दिए।
मध्यरातको समयमा नेपालीले एक महिलामाथि हातपात गर्नुको साथै लछारपछार पार्दै कपडामसेत च्यातिदिएर जबरजस्ती बलात्कारको प्रयास गरेको जाहेरीका आधारमा नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए।
‘पीडित महिलाको बयानबाट पनि रातिमा पार्टी गत आस्था र भोट हालेकै कारण उनीहरूमाथि आक्रमण भएको खुलेको छ,’ डिएसपी खड्काले भने, ‘त्यही समयमा कुटपिट गर्दै नेपालीले भने एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको स्पष्ट भइसकेको छ।’
झडपको कारण मदिरा सेवन
जिल्ला प्रहरी प्रमख खड्काका अनुसार जेठ १० गते राति करिब पौने १२ बजेतिर त्रिवेणी– २ राधाकुटीस्थित कांग्रेस कार्यकर्ता टीका पुनको घरमा गाउँपालिकाको उपाध्यक्ष सीता खड्का पुनलगायत निर्वाचित सदस्यहरूको निर्वाचन जितेको उपलक्ष्यमा खुसीयालीमा भोज आयोजना गरिएको थियो।
सोही दिन त्रिवेणी– २ गैरागिटीस्थित एमालेबाट निर्वाचित वडाध्यक्ष हस्तबहादुर राम्जाको घरमा पनि विजय उत्सव मनाई घरतर्फ फर्किने क्रममा एमालेका कार्यकर्ताले कांग्रेसका पुन लगायतलाई आक्रमण गरेका हुन्।
‘एमालेका नेता कार्यकर्ताले किन कांग्रेसको चुनाव चिन्ह रूखमा भोट हालिस् भनेर आफूहरूलाई अनाहकमा आक्रमण गरेको भनेर घाइतेले बयान गरेका छन्,’डिएसपी खड्काले, ‘पीडितको जाहेरीमा पनि त्यो कुरा समेटिएको छ।’
खुसीयाली मनाउन भोजमा सहमागी दुबैतर्फका मानिसहरू आपसमा भेट हुँदा एमालेका मानिहरूले किन कांग्रेसलाई भोट हालिस् भन्दै सांघातिक रूपमा आक्रण गरेको एक जना घाइतेले जानकारी दिए।
झगडाको मुख्य कारण भने मदिरा सेवनलाई मानिएको प्रहरीले बताएको छ।
त्रिवेणी–२ राधागुटीकै २० वर्षीय जीवन नेपालीविरूद्ध भने कुटपिटका साथै जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको डिएसपी खड्काले जानकारी दिए।
नेपालीले महिलामाथि कुटपिट गर्नुको साथै बलात्कारको प्रयास गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरेर आवश्यक कारबाहीको प्रक्रिया सुरू गरिएको डिएसपी खड्काले बताए।
आरोपित सबै प्रहरी नियन्त्रणमा रहेको डिएसपी खड्काले जानकारी दिए।
शारदाका मेयर भण्डारीले भेटे घाइतेलाई
नेकपा एमालेका नेता/कार्यकर्ताको आक्रमणबाट घाइते भई उपचारार्थ नेपाली कांग्रेसका नेता तथा नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशका उपाध्यक्ष खिमबहादुर पुन र उनकी श्रीमतीलाई सल्यान शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले अस्पतालमा पुगेर भेटेका छन्।
कांग्रेस सल्यानका सचिवसमेत रहेका मेयर भण्डारीले घटनाको निन्दा र भर्त्सना गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। साथै, उनले फेरि यस्ता घटना दोहोरिए सैह्य नहुने चेतावनी पनि दिएका छन्।
उनले समाजमा आपसमा मिलेर बस्नुको सट्टा झैझगडामा उत्रने कार्य तत्काल रोक्न आग्रह गरेका छन्।