नेपाली फौजले अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बुधबार जितगढी किल्लामा विजय दिवस मनाइएको छ।
बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको थियो। विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेजलाई हराएको थियो।
विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रुपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताए।
‘हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने संकल्पका रूपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौ’, उनले भने। शिवगढी, दाउन्नेगढीलगायतका सामरिक महत्वका गढीलाई जितगढीसँग जोडेर पर्यटकीय प्रवर्द्धन गर्ने बताउँदै उनले ऐतिहासिकता लेखिएको स्थललाई भावी सन्ततिले देख्ने र गर्व गर्ने गरी संरक्षण गरिनुपर्ने बताए।
उपप्रमुख गुमादेवी आचार्यले यो गढीको संरक्षणका लागि गुरूयोजना बनाउने काम भएको जानकारी गराउँदै यहाँ बन्ने गुरूयोजनाका बारेमा सरोकारवालाको सुझाव लिएर काम अघि बढाएको उल्लेख गरिन्।
पर्यटन विकासका लागि स्थानीयवासीले अपनत्व गर्ने र स्थानीय बासिन्दाको समृद्धिसँग जोडिने गरी जितगढीको विकासका काम अगाडि बढाइने उनको भनाइ छ ।
नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको दिनको सम्झना गर्दै उपमहानगरपालिकाले गत वर्षबाट वैशाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवसका रुपमा मनाउन सुरू गरेको हो। किल्लालाई संरक्षण गर्दै उपमहानगरपालिकाले गुरूयोजना बनाएको छ। गुरूयोजनाअनुरूपका काम अहिले धमाधम भइरहेका छन्। जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ।
उपमहानगरपालिकाले यसको गुरूयोजना निर्माण गरेर जितगढी क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना बनाएको छ। उपमहानगरपालिकाको योजना अनुसार जितगढी किल्ला रहेको भागको दक्षिण र उत्तर भागमा भौतिक संरचना बन्नेछन्। जितगढी किल्लासँगै रहेका कभर्ड हल र वडा कार्यालयलाई हटाइएको छ। किल्लाको वरिपरि रहेको सार्वजनिक जग्गामा मनोरम बगैंचा र राजमार्गभन्दा उत्तरको भागलाई सङ्ग्रहालय, रात्रीकालीन बजार, कोशेली पसलहरु, बगैंचा बनाउने उपमहानगरपालिकाको योजना रहेको नगरप्रमुख शिवराज सुवेदीले बताए।
‘बटौली युद्वकालीन सङ्ग्रहालय बनाएर त्यो बेला युद्वमा प्रयोग गरिएका तोपहरूको सङ्ग्रह गर्ने, मणिमुकुन्दसेन शीतकालीन दरबार, युद्वको बेलामा हतियार भण्डारण गर्ने काठेगढी र नुवाकोटगढीसँग जोडेर विकास गरिनेछ’, उनले भने, ‘युद्वका क्रममा शहादत्त प्राप्त गर्ने ९ जनाको नाम खुलेको छ र अरू सेनाको पनि नाम खोजेर शालिक निर्माण गरिनेछ, यसैबाट बुटवलको पर्यटनमा टेवा पुग्नेछ।’
जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी गुरूयोजनाअनुरुपका काम अगाडि बढेको उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख विष्णु खनालले जानकारी दिए।
गुरूयोजनाअनुसार दुई बिगाहा दुई कट्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन्। जितगढी बटौली युद्व सङ्ग्रहालयको समेत निर्माणकार्य चलिरहेको छ। नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) सुरू भएकै बेलामा अंग्रेज र नेपालबीच सिमानामा विवाद सिर्जना भएको थियो। विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधि तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगे पनि विवाद समाधान हुन सकेन। सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो।
सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सिमाना अवधसम्म पुगेको थियो। पाल्पाबाट भागेर गएका राजखलक र भारदारले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए। त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो। बिग्रिएको सम्बन्ध अन्ततः युद्वमै परिणत भयो। सुरूका युद्वमा हारेको नेपालले विसं १८७२ वैशाख ७ मा भएको युद्वमा भने तत्कालीन अंग्रेजलाई पराजित गर्यो।
अमरसिंह थापा (साना) का नाति २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनकै नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्व लडेको थियो। कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनामाथि विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ।
उपमहानगरपालिकाले बनाएको जितगढी गुरूयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको छ। ‘यो अत्यन्तै महत्वको स्थल हो, यसको संरक्षण र व्यस्थापनका लागि हामीले उपमहानगरपालिकासँग सहकार्य गरेका छौं’, नेपाली सेनाको गरूडदल गण बुटवलका प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले भने।