घोराही उपमहागरपालिका-८ स्थित स्यानी गाउँकी शोभा चौधरीको सूर्यमुखी फूलबारीमा टन्न मान्छेहरू थिए। वरिपरि खेतमा लहलह गहुँका बोटहरू बीचमा छ सूर्यमुखीको खेती। बुधबार दिउँसोको कुरा हो, चर्को घामको प्रवाह नगरी कसैले भिडिओ खिच्दै थिए, कसैले फोटो अनि सबभन्दा बढी त टिकटक बनाउन नाच्नेहरू!
घोराहीको कपासेंबाट जिमकला घर्ती टिकटक बनाउनकै लागि यहाँ आएकी थिइन्। गृहिणी हुन्, यो सूर्यमुखी बारीमा अरूले बनाएका टिकटक देखेरै उनी आएकी हुन्।
घोराही–१३ सेवारका आशिका उनकी बहिनी एलिना र अन्टी विपना बुढा पनि केहीपर भिडिओ बनाउन तल्लीन थिए। तुलसीपुर उपमहानगरपालिका- ८ अश्वाराका फोटो ग्राफर मिलन भण्डारी आफ्नो पेजमा राख्ने फोटो खिच्न भनेर पुगेका थिए।
घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत घोराहीकी यसोदा डाँगीले १५ देखि २० वटासम्म टिकटकका लागि भिडिओ बनाएको बताइन्।
उनका साथमा रोल्पा घर भई घोराहीमै बसेर ब्याचरल चौथौ वर्षको परीक्षा दिएकी चाँदनी परियार र प्युठानको जस्पुरकी खिमा दर्लामी पनि थिए।
यी सबै सामाजिक सञ्जालमा अरूहरूले राखेका फोटो, भिडिओ देखेर रहर पूरा गर्न आएका हुन्।
सूर्यमुखी फूलको खेती भाइरल भएपछि दैनिक यहाँ सयौं मानिस फोटो खिच्न र भिडिओ बनाउन आउने गरेका छन्। मान्छे धेरै आउन थालेपछि सूर्यमुखी खेतीकी मालिक शोभा चौधरीले यहाँ आएर फोटो खिचेको शुल्क तोकेकी थिइन्।
प्रतिव्यक्ति ५० रूपैयाँ शुल्क प्रवेश शुल्क लिने गरेको उनले बताइन्।
सूर्यमुखीका कतिपय कोपिला (मुर्झाइ) सुकिसकेका छन् तै मानिसहरू यहाँ आउने र फोटो खिच्ने तथा भिडिओ बनाउन आइरहेकै छन्।
यतिसम्मकी साढे ७ कठ्ठा जति क्षेत्रफलको बारीमा लगाइएको त्यही सूर्यमुखीको फूलबारी हेर्न गत शनिबार मात्रै यहाँ तीन सय २० जना मानिस आएको रेकर्ड छ। त्यो दिन प्रतिव्यक्ति ५० को दरले प्रवेश शुल्क लिँदा १६ हजार रूपैयाँ एकैदिन संकलन भएको चौधरीले बताइन्।
‘हप्ता दिन हुन थाल्यो हामीले प्रवेश शुल्क तोकेको,’ उनले भनिन् ‘आजको बाहेक ६ दिनमा ४३ हजार संकलन भइसकेको छ।’
त्यसको हिसाबले ६ दिनमा ८ सय ६० जना त्यहाँ पुगेको देखिन्छ।
फोटो खिच्न तथा टिकटक बनाउन आउनेहरू नाच्ने, दौडिने तथा टिपेर लैजाने हुँदा फूलहरूमा क्षति पुगेपछि आउनेहरूकै सल्लाहमा प्रवेश शुल्क तोकिएको शोभाले बताइन्।
तारबाररहित खुला खेतबारी हुनु र मानिसहरूको थामिनस्कने भिड बढ्दै जान थालेपछि चौधरी परिवारलाई रातदिन ड्युटी गर्नु परेको छ।
बुधबार बगैंचाभन्दा केहीमाथि लिलाबहादुर चौधरी भिड नियन्त्रण गर्न र प्रवेश शुल्क/अशुल्नका लागि लाठीसहित प्रहरीको जस्तै गरी बाटोमा पहरा दिइरहेका थिए। शोभा बगैंचा प्रवेश गर्ने ठाउँमा थिइन्। जहाँ उनले बोतलमा पानी र तयारी खानेकुरा पनि राखेकी थिइन्।
शोभाका अनुसार सुरूमा त्यहाँ स्थानीय युवा ललितको समूह एक दिन पिकनिक खान आएका थिए। उनैले पहिलो पटक सामाजिक सञ्जालमा सूर्यमुखी फुलेको फोटो भिडिओ अपलोड गरेका थिए। त्यो देखेर आसपासका अरू युवायुवती पनि बिस्तारै त्यहाँ फोटो भिडिओ बनाउन आउन थाले।
त्यसपछि घोराही, तुलसीपुर बजार क्षेत्रबाट पनि मानिसहरू आउन थाले। त्यही क्रममा एकदिन घोराहीका चार किशोर-किशोरीले बलजफ्ती खेती किसान चौधरीलाई दश/दश रूपैयाँ छोडेर गए। त्यसको अर्को दिन फेरि तुलसीपुरबाट गएका एक व्यक्तिले नमान्दानमान्दै ५० रुपैयाँ लैजान कर गरे। उनैले फोटो/भिडिओ खिच्न आउनेहरूले फूलहरूमा क्षति गरेको र त्यो क्षति पूर्ति गर्न प्रतिव्यक्ति ५० रूपैयाँ प्रवेश शुल्क लिन सुझाव दिए। ती युवाको कुरा चौधरी परिवारलाई ठिकै लाग्यो। त्यसैले हप्ता दिन अगाडि ५० रूपैयाँ शुल्क निर्धारण गरिएको शोभाले बताइन्।
‘हामीले त यो सूर्यमुखीको फूल तेलका लागि रोपेका थियौं,’ उनले उत्साहित हुँदै भनिन्, ‘यस्तो होला भनेर हामीले सोचेकै थिएनौं।’
शोभालाई दोब्बर नाफा भएपछि खुसी नै लागेको छ।
‘तेल पनि ५०/५५ हजार जतिको हुन्थ्यो होला,’ उनले भनिन्, ‘धेरै मानिसहरू आएपछि अब फूलहरू खराब भइसकेको छ अब त्यति हुँदैन होला।’
जे होस् प्रवेश शुल्कबाटै त्यति रकम संकलन भइसकेकोमा भने अब उनलाई कुनै चिन्ता छैन। सर्वसाधारणबाट रकम असुलेको भन्ने गुनासोको आधारमा प्रहरी पुगेर प्रवेश शुल्क नलिन चेतावनी दिएको थियो।
‘प्रहरी यही आएर तपाईंले प्रवेश शुल्क लिन पाउनु हुन्न र प्रवेश शुल्क लिने भए कर तिर्नुस् भनेर भन्नुभयो,’ शोभाले उल्टै प्रश्न सोधिछन् ‘यो मेरो व्यक्तिगत खेती हो र मैले तेलको लागि यो खेती गरेकी थिएँ, मेरो व्यक्तिगत खेतीमा क्षति पुगेपछि क्षति बापतको रकम मैले किन लिन नपाउने?’
उनले आफूहरूले व्यवसायिक रूपमा पर्यटन तान्नका लागि खेती नगरेको र मान्छेहरू आफैं आएर बारीमा क्षति पुगेपछि शुल्क उठाएको बताइन्।
भनिन् ‘हामीले कसैलाई यहाँ आउनुस् भनेर डाकेका वा कर गरेका त छैनौं नि। मानिसहरू रमाउन र खुसी साट्न आफैं आउँछन् त हामीले के गरौं।’
पाँच महिना अगाडिमात्रै चौधरी परिवारले सूर्यमुखी खेती सुरू गरेको थियो।
गत वर्ष आसपासका अन्य किसानले थोरै भए पनि सूर्यमुखीको खेती गरेको देखेका चौधरी परिवारले कस्तो हुँदो रहेछ भनेर गत मंसिरमा मात्रै पहिलो पटक सूर्यमुखीको बिउ किनेर ल्याएका थिए। जिल्लाकै लमहीस्थित कृषि ज्ञान केन्द्रबाट प्रतिकेजी एक हजार मूल्यका दरले साढे तीन किलो बिउ किनेर रोपेको शोभाले बताइन्।
‘अरूभन्दा फरक र नयाँ केही गर्न सके समयले आफैं चर्चामा पुर्याउँदो रहेछ,’ शोभाले भनिन्,‘अब आउने वर्ष यो जग्गामा बिजौरीबाट ल्याएर ड्रागन फ्रुटको बेर्ना लगाउने सोच बनाएका छौं।’
बिजौरीमा पूर्वमन्त्री तथा पूर्व नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले जिल्लामा नौलो मानिने ड्रागन फ्रुटको व्यवसायिक खेती गरेपछि अहिले जिल्लाका धेरै ठाउँमा त्यसको सिको गर्दै ड्रागन खेती भइरहेको छ।