मंगलबार साँझबाट लगातार बिजुली अवरूद्ध भएपछि उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्।
नेपाल उद्योग परिसंघ प्रदेश १ ले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै विद्युत अवरूद्धबारे ध्यानाकर्षण गराएका हुन्।
पत्रको बोदार्थ प्रधानमन्त्री, मन्त्रिपरिषदको सचिवालय, अर्थमन्त्री, ऊर्जामन्त्री, उद्योगमन्त्री लगायतलाई दिइएको छ।
‘नेपालमा विद्युत उत्पादन मागभन्दा बढी भएको र खेर गइरहेको भनाइ आइरहँदा प्रदेश १ को औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति बन्द हुन पुगेको छ,’ परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले लेखेको पत्रमा भनिएको छ।
उद्योगीहरूका अनुसार सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा मंगलबारदेखि भारतबाट आइरहेको विद्युत आपूर्ति बन्द छ। भारतबाट आयात भइरहेको बिजुली रोकिएपछि औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ सुरू भएको उद्योगीहरूले जनाएका छन्।
नेपालले अहिले दैनिक ४ सय मेगावाटको हाराहारीमा बिजुली भारतबाट आयात गरिरहेको छ। त्योमध्ये ठूलो मात्रा खुला बजारबाट किन्छ भने केही बिजुली राज्यस्तरका निकायबाट किन्दै आएको छ।
भारतमा कोइलाबाट बढी बिजुली उत्पादन हुने गरेको छ।
भैरहवा, वीरगञ्ज र विराटनगरका उद्योगमा मंगलबार साँझदेखि लोडसेडिङ सुरू भएको भन्दै उद्योगीहरूले ध्यानाकर्षण गराएका हुन्।
‘जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्ने अवस्था छैन, मैले मेरा केही उद्योग बन्द गरिसकें,’ उद्योगी महेश जाजुले सेतोपाटीसँग भने।
राष्ट्रिय प्रसारण लाइनको ९०५ मेगावाट आपूर्ति भइरहेकोमा अहिले पानीको सतह घटेका कारण न्यून आपूर्ति भइरहेको उद्योगी राकेश सुरानाले बताए।
‘राष्ट्रिय प्रसारण लाइनको ९०५ मेगावाट आपूर्ति भइरहेकोमा अहिले न्यून आइरहेको छ, त्यसले यहाँको माग धान्न नसक्ने भएकाले औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरू भएको हो,’ सुरानाले भने।
परिसंघले नेपालमा विद्युत उत्पादन मागभन्दा बढी रहेको र खेर गइरहेको भनाइ सार्वजनिक भइरहेकामा आश्चर्यजनक तरिकाले विद्युत् आपूर्ति कम भइरहेको पत्रमा उल्लेख गरेको छ।