महिनावारीका कुरा- दोस्रो शृंखला
सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिएर आएका छौं। यसमा सुदूरपश्चिमको महिनावारी अनुभव प्रकाशन गर्नेछौं।
...
डोटीकी मधु (नाम परिवर्तन) ले तीन वर्षअघि एसइई पास गरिन्। उनलाई धनगढी पढ्न पठाउने कुरा घरमा चल्न थाल्यो। मधु फुरूंग भइन्। बस चढेर सहर जाने अनि क्याम्पस पढ्ने कुराले उनको मन रंगियो।
सहरमा महिनावारी बार्न पर्दैन भन्ने सम्झेरै पनि उनले राहतको सास फेरिन्, 'सहर गएपछि त छोइछितो बार्न पर्दैन, यहाँजस्तो छुट्टै बस्न पनि पर्दैन होला!'
गाउँमा छोइछितो बार्नुपर्ने र कतिले त छाउगोठमा बस्नुपर्ने कुराले उनलाई दिक्क बनाएको थियो। सानैदेखि आमा, सानीआमा र दिदीहरू छाउगोठ बसेको देखेकी थिइन्। महिला र किशोरीले ज्यान गुमाएका खबर सुन्दा आङ सिरिंग हुन्थ्यो। यसले महिनावारी बार्ने प्रचलनप्रति प्रतिरोधी भावना साँच्दै उनी हुर्किइन्।
एकदिन मधु महिनावारी भइन्। नचाहँदा नचाहँदै छाउगोठ बस्नुपर्ने भयो। यस्तो सामाजिक जकड तोड्नुपर्छ भनेर बुबालाई सम्झाउने कोसिस पनि गरिन्।
'बुबालाई मनाएपछि मैले छाउगोठमा बस्नु परेन। घरभित्रै एउटा कोठामा अलग्गै बस्ने अनुमति पाएँ,' उनले सेतोपाटीसँग भनिन्, 'घरकै कोठामा बस्न पाए पनि छोइछितोको चलन भने छुटाउन सकिनँ।'
मधुलाई आफू गोठमा बस्न नपरेकोमा खुसी त लाग्यो। तर अरू दिदीबहिनीले पनि आफूजस्तै घरै बस्न पाए हुन्थ्यो भन्ने चाहना थियो।
'हाम्रो गाउँमा छाउलाई एकदमै धेरै मान्छन्। घर-भान्सामा नजिक आउनै दिँदैनन्,' उनले भनिन्, 'यो चलन नराम्रो हो भन्ने चेत धेरैलाई छैन, त्यसैले डराउँछन्।'
मधुलाई महिनावारी बेला दूध, दही खान नमिल्ने चलनदेखि झन् दिक्क लाग्छ। घाँस काट्न मिल्ने, मल फाल्न मिल्ने, दूध दुहुन पनि मिल्ने तर खान चाहिँ नमिल्ने, किन होला?
उनी यो प्रश्न ठूलाबडालाई सोधिरहन्थिन्। उत्तर कसैसँग थिएन। जब उत्तर हुँदैन, सबै एउटै कुरा भन्थे, 'पाप लाग्छ।'
तीन वर्षअघि मधु र उनका भाइबहिनी पढ्न धनगढी आए। कोठा नपाइन्जेल उनीहरू दिदीको घर बसे। मधु धनगढी सहरमा कोठा खोज्न दिनहुँ चक्कर काट्न थालिन्। घरघरै पुगिन्। यसरी हिँड्दा उनले आफूले नसोचेका प्रश्न सामना गर्नुपर्यो।
कोही भन्थे- कोठा त छ तर तिमी कुन जातको हौ?
कसैले सोध्थे- को को बस्छौ?
यो प्रश्नको उत्तर सुनेपछि धेरैले कोठा दिन मानेनन्।
'बहिनी, भाइ र म बस्ने भन्नेबित्तिकै घरबेटीले दुई/दुई जना महिनावारी हुने रहेछौ, हुन्न भने,' मधुले सुनाइन्।
सहर गएपछि महिनावारीका कारण समस्या भोग्नुपर्दैन भनेर दंग परेकी मधु निराश भइन्।
हप्तौं खोजेपछि उनले बल्ल घरबेटी नबस्ने घरमा कोठा पाइन्। दुई वर्ष बस्दा उनीहरूलाई कुनै तनाव भएन। जसै घरबेटी फर्किए, कोठा सर्नुपर्ने भयो। कारण उही- महिनावारी।
नयाँ सरेको घरमा पनि घरबेटी बस्थेनन्। तर एक वर्षमै घरबेटीले घर मर्मत गर्नुपर्यो भने। मधुहरू फेरि सर्नुपर्यो। तेस्रो घरबेटीले भने उनलाई महिनावारी बार्नुपर्ने सर्त राखे। धारा, नल्का छुन नमिल्ने घरबेटीको नियम थियो।
'भिजेका लुगा, भाँडा, अन्य सरसामान सुकेपछि मात्रै कोठामा ल्याउनुपर्ने नियम थियो,' मधुले भनिन्।
मधुकी बहिनीले शौचालय, धारा छुन नपाइने झन्झटले महिनावारी भएको कुरा घरबेटीलाई थाहा दिन्न थिइन्। तर घरबेटी मधुलाई यसबारे सोधे। उनले बहिनीलाई बेलाबेला महिनावारी नहुने समस्या छ भनिदिइन्। घरबेटीले उनीहरूलाई महिनावारीबारे बढी नै केराकार गर्थे।
'महिनावारी हुने पालो कहिले, कहिले भएको भनेर झन् बढी केरकार गर्न थाले,' उनले भनिन्।
केही महिनापछि त घरबेटीले कोठा छाड नै भने। घरबेटीलाई किन कोठा छाड्ने भनेर सोधिन् मधुले। जवाफ आयो- तिमीहरू दिदीबहिनीका कारण छाउछुत भयो। हाम्रा देउता रिसाए।
फेरि सर्नुपर्ने भएपछि मधुलाई तनाव भयो। उसैगरी सहरको चक्कर लगाउन पर्यो। तिनै प्रश्न खेप्नुपर्यो। त्यस्तै सर्त सुन्नुपर्यो। सम्झेरै दिक्क लाग्यो।
'एक्कासि सर्नु परेपछि गाह्रो भयो। पैसा थिएन। कोठाका लागि अन्त कतै खबर पनि गरेको थिएन। सामान कसरी कहाँ लग्ने भन्ने पिर भयो,' उनले भनिन्।
यति धेरै अपमानित हुनु परेकामा उनलाई निकै रिस उठेको थियो। तर घरबेटीले कोठा नदिने भनेपछि के लाग्छ र? सबैतिर फोन र दिदीको सहयोगले केही दिनअघि मात्रै अर्को कोठा भेट्टाएकी छन्।
धनगढीजस्तो सहरमा पनि महिनावारीका कारण विभेद भोग्नु पर्दा उनलाई बहुत अपमानित भएको महसुस हुन्छ। मन पनि दुख्छ, रिस पनि उठ्छ। अहिलेका घरबेटीले पनि महिनावारी भएका बेला खानेपानीको धारामा नछुनू भनेका छन्। उनलाई यो कुरा चित्तै बुझिरहेको छैन।
सहरमा गाउँजस्तो गोठमा बस्नु नपरे पनि अनेक भनाइ र विभेद सहनु पर्दा उनलाई तनाव हुन्छ। आफू र बहिनीका कारण देउता रिसाएको भन्ने कुराले मन पोलेको छ।
'हामीले के पाप गर्यौं र देउता रिसाउने? महिनावारी हुनु कसरी पाप हुन्छ हो?' घरबेटीलाई सोध्न नसकेको यही प्रश्न उनको मनमा खेलिरहन्छ।
भर्खरै सरेको कोठा पनि महिनावारीकै कारण कति बेला छोड्नुपर्ने हो भन्ने त्रास उनको मनमा छँदै छ। आफूले भोगेका यस्ता कुरा अरूलाई भन्न सक्ने अवस्था पनि नभएको उनी बताउँछिन्।
'कसैलाई भन्न पनि सकिँदैन। घरबेटीको घर हो, भाडामा बस्नेले भनेअनुसार गर्नैपर्छ भन्छन्। फेरि लाज होला भनेर पनि महिनावारीका कारण भोगेको समस्या सुनाउँदै हिँड्न सकिन्न,' उनले भनिन्।
मधु र उनकी बहिनीको पढाइ पूरा हुन अझै केही वर्ष छ। बस्ने धनगढीमै हो। यो बीचमा महिनावारीकै कारण कोठा सर्न नपरे हुन्थ्यो भन्ने कामना उनीहरू गरिरहेका छन्।
दोस्रो शृंखलामा प्रकाशित स्टोरीहरू:
'महिनावारीका कुरा' को पहिलो शृंखलामा प्रकाशित स्टोरीहरू: