महिनावारीका कुरा- दोस्रो शृंखला
सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिएर आएका छौं। यसमा सुदूरपश्चिमको महिनावारी अनुभव प्रकाशन गर्नेछौं।
...
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट थुप्रै युवाहरू पढाइ र जागिर सिलसिलामा राजधानी धनगढी आउने गर्छन्। सुदूरपश्चिमकै ठूलो र व्यस्त बजार भएकाले बर्सेनि गाउँ-गाउँबाट बसाइँ सरेर आउनेहरूको ताँती लाग्छ।
यसरी कामको सिलसिलामा अस्थायी रूपले आउने वा बसाइँ सरेर आउनेहरूले आश्रय लिने भनेको डेरामा हो। तर धनगढीमा कोठा पाउन एउटा ठूलो समस्या छ। त्यो समस्या महिलाहरूले त झेल्नुपर्छ नै, विवाहित पुरूषहरूलाई पनि त्यही समस्याले कोठा पाउन गाह्रो पर्छ।
महिला-पुरूष दुवैले समान रूपमा झेल्नुपर्ने समस्या हो, महिनावारी।
'महिनावारीका कुरा' शृंखलाको आजको अंकमा हामी पुरूषहरूले भोग्नुपरेको समस्याबारे चर्चा गर्दैछौं।
दार्चुलाका बिर्खे बिष्ट (नाम परिवर्तन) एक निजी कम्पनीमा जागिर पाएपछि तीन महिनाअघि धनगढी आएका हुन्। बस्ने थलो निश्चित गरेपछि मात्रै श्रीमती र छोराछोरी ल्याउने भन्दै उनी सुरूमा एक्लै आएका थिए।
उनी केही समय मामासँग बसे। काम सुरू भएपछि कोठा खोज्नुपर्ने भयो। उनले कोठा खोज्न मामासँग सबै बस्ती चहारे। जहाँ सोध्दा पनि घरबेटीबाट एउटै प्रश्न सामना गर्नुपर्थ्यो।
'पहिला घरबेटीले कोठा खाली छ भन्थे, पछि श्रीमती पनि सँगै बस्ने हुन् भनेपछि महिनावारीको कुरा उठाउँथे,' उनले भने।
गाउँमा महिनावारीको दु:ख देखेका बिष्टले धनगढीमा पनि छोइछितो गरिन्छ भन्ने सोचेकै थिएनन्। महिनावारीका कारण कोठै पाउन गाह्रो पर्ला भन्ने त कल्पनासम्म थिएन।
यही सिलसिलामा उनी एउटा घरमा पुगे। त्यहाँ कोठा खाली छ भन्ने उनलाई थाहा थियो। घरबेटीहरू धेरै दिनदेखि डेरावालको खोजीमा छन् भन्ने उनले सुनेका थिए। त्यसैले उनलाई कोठा पाइन्छ भन्ने ठूलो आस थियो।
जसै उनले 'कोठा खाली छ?' भनेर सोधे, घरबेटीले खुसी हुँदै भने, 'खाली छ।'
कोठा खोज्दा खोज्दा हैरान भएका बिर्खेको खुसीको सीमा रहेन। उनी अब चाहिँ मामाको घरबाट निस्केर आफ्नै कोठामा बस्न पाइने भयो भनेर दंग परे।
घरबेटीले उनलाई सोधे, 'तपाईं एक्लै बस्नुहुन्छ कि परिवार छ?'
बिर्खेले जवाफ दिए, 'दुई महिनापछि श्रीमती र छोरी पनि आउँछन्।'
यस्तो जवाफ सुन्नेबित्तिकै घरबेटीको अनुहार अमिलो भयो। उनले मुख बिगार्दै भने, 'श्रीमती पनि सँगै बस्न आउने भए त हुँदैन बाबु। महिनावारीको कुरा आउँछ। हामीलाई छाउछुत भए सन्चो हुँदैन। तपाईं एक्लै भए दिइहालिन्थ्यो, श्रीमती पनि बस्ने भए त हुन्न।'
बिष्ट नाजवाफ भए र रित्तो हात फर्के।
त्यसपछि दुई महिना लगातार कोठा खोज्दा पनि उनलाई महिनावारीको प्रश्नले छाडेन। घरबेटीपिच्छे अनेक बहानामा कोठा दिन आनाकानी गरेको सुनेर बिष्ट हैरान भए। मामाको घर छाडेर साथीसँग बस्न थाले।
'कति ठाउँमा महिनावारी बेला पानी छुनुहुन्न, कोठामा बस्न पाइन्न, बार्नुपर्छ भने,' उनले भने, 'कतिले चाहिँ एउटा-दुइटा कोठा लिँदा छाउछुत लाग्ने हुँदा पूरै फ्ल्याट लिनुपर्छ भन्थे। फ्ल्याट लिए महिनावारी बार्न सजिलो हुन्छ, अरूलाई छाउछुत पर्दैन भन्ने उनीहरूको तर्क हुन्थ्यो।'
विवाहित पुरूषले एक्लै बस्ने भए कोठा पाउने तर श्रीमतीलाई सँगै राख्ने भए कोठा नपाउने प्रवृत्तिले उनलाई सोच्न कर लाग्यो, 'महिलाहरूले हरेक महिना यो समस्या कसरी झेल्दा हुन्!'
'महिनावारी बेला दिदीबहिनी, आमा, श्रीमतीलाई गाह्रो हुन्थ्यो होला। उनीहरूले अहिलेसम्म त्यसको गुनासो गरेनन्। मैले पनि उनीहरूको समस्याबारे कहिल्यै सोचिनँ,' उनले भने, 'सहरमा त यतिविधि छोइछितो रहेछ भने गाउँमा उनीहरूलाई कति ठूलो समस्या पर्दो हो?'
उनले अगाडि भने, 'श्रीमती सँगै बस्छन् भनेर विवाहित पुरूषलाई कोठा दिइँदैन भने केटी मान्छेले एक्लै बस्न कसरी कोठा पाउलान्?'
धनगढीमा डेरा खोज्दाको यो अनुभवले अचेल बिष्टलाई महिनावारीको विषयमा गम्भीर बनाएको छ। यो त महिलाहरूले प्रत्येक महिना भोग्नुपर्ने समस्याको पहाड पो रहेछ भन्ने उनले बुझेका छन्। घरबाट टाढा बस्ने महिलाहरूलाई यो समस्या अझ बढी रहेको उनको अनुभव र बुझाइ छ।
'गाउँदेखि सहर बजारसम्म छोरीहरूलाई महिनावारीकै कारण विभेद गरिने हो भने उनीहरूको क्षमता कसरी बढ्छ? उनीहरूले समान अवसर कसरी पाउँछन्?' उनले भने, 'मलाई ठूल्ठूलो कुरा थाहा छैन तर यति चाहिँ बुझेँ, महिलाहरूलाई पुरूषसरह समान अवसर दिने हो भने सबभन्दा पहिला महिनावारीको छोइछाइ अन्त्य हुनुपर्छ। हरेक महिना चार-पाँच दिन छोइछाइ गरेपछि के को समानता? के को समान अवसर?'
बिर्खे बिष्टले गत साता मात्रै एउटा घरमा कोठा पाए। त्यहाँ पनि श्रीमती आउने भए महिनावारी बेला नल्का छुन नपाइने घरबेटीले सर्त राखेको छ।
उनले अब कम्तीमा एक वर्ष श्रीमती र छोरीलाई गाउँबाट नल्याउने मनस्थिति बनाइसकेका छन्।
'महिनावारीको कुरा नउठाउने घरमा कोठा पाएँ भने मात्र श्रीमती र छोरीलाई छिटो बोलाउँछु, नभए अब अर्काे वर्ष मात्रै उनीहरूलाई धनगढी ल्याउने विचारमा छु,' उनले भने।
दोस्रो शृंखलामा प्रकाशित स्टोरीहरू:
'महिनावारीका कुरा' को पहिलो शृंखलामा प्रकाशित स्टोरीहरू: