आइतबार दिउँसो साढे ३ बज्न लागेको थियो।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाको कार्यकक्षमा पत्रकार, अधिकारकर्मी र जनप्रतिनिधि खचाखच थिए।
एक बेग्लै माहोल थियो। उपस्थितहरू आपसमा खासखुस गरिरहेका थिए। उनीहरू सबैको अनुहारमा छुट्टै रौनक थियो।
सोफामा बसेकी एक १६ वर्षीया किशोरीको तस्बिर र भिडियो लिन पत्रकारहरू ब्यस्त थिए।
सेतो मास्क र पहेँलो धोती लगाएकी अन्दाजी ४० वर्षीया महिला मौनता चिर्दै बोल्न सुरू गर्छिन्। बोल्दाबोल्दै उनको गला अवरूद्ध हुन्छ। आँखामा आँशु टिलपिलाउन थाल्छन्।
नेपालगन्ज उपमहानगरपालिका-२ की सन्तोषी चमार (परिवर्तित नाम) तीनै किशोरीकी आमा हुन्। जो नौ वर्षदेखि हराइरहेकी आफ्नी छोरी यमुना चमार (परिवर्तित नाम) लाई भेटाएपछि हर्षविभोर भएकी थिइन्।
‘आफ्नै छोरी पाउनका लागि हामी वर्षौदेखि इण्डिया दौडिरह्यौं,’ उनले गला अवरूद्ध पार्दै भनिन्, ‘सबै कागज प्रमाण पेश गरेपछि बल्ल-बल्ल यतिका वर्षपछि बेपत्ता भएकी छोरी पाउन सफल भयौं।’
आमा सन्तोषीका अनुसार उनकी छोरी यमुना साढे ६ वर्षकै उमेरमा घरबाट हराएकी थिइन्।
त्यतिखेर सन्तोषी दम्पत्ती भारतको रूपैडियाबाट सामान ल्याउने मार्केटिङको काम गर्थे। सोही बेला सन्तोषीका सहोदर दाजु भारतबाट उनीहरूको घर आएका थिए।
दाजु आएको समयमा सन्तोषीलाई सञ्चो थिएन। औषधि उपचारका लागि उनी भारत गइन्। घरमा आएका दाजु पनि बहिनी उपचारका गएपछि निस्किए।
सन्तोषी घरमा नभएको मौका पारेर फेरि उनका दाजु घर आएर साढे ६ वर्षकी भान्जीलाई लिएर भारत पुगे।
‘मलाई सन्चो नभएकाले औषधि उपचार गर्न भारत गएको थिएँ। घरमा कोही नभएको मौका पारी दाजुले भान्जीलाई लिएर गएछन्’, उनले भनिन्।
उपचार गरी घर फर्कदाँ छोरी नभेटेपछि उनीहरूले छोरीको निकै सोधखोज गरे। चरम गरिबीमा रहेका उनीहरूले खर्च गरेर छोरी खोज्न सकेनन्। त्यहीँ बीचमा उनका दाजु पुनः आए उनले पनि खोजेजस्तो गरे तर आफैंले लगेको भन्ने सुइँको दिएनन्।
त्यसपछि उनीहरूलाई चिन्ता गरेर बस्नुको बिकल्प रहेन।
‘हामी चार भाइबहिना छौं। शंकै थिएन आफ्नै दाजुले यस्तो गर्लान् भनेर,’ सन्तोषीले भनिन्, ‘जब सत्य कुरा थाहा पाएँ अन्त्यन्तै पीडा भयो।’
साढे ६ वर्षीया भान्जीलाई सुटुक्क उठाएर भारत पुर्याउने उनका माइला दाजु नैनीतालमा सानोतिनो ठेक्काको काम गर्थे।
भारतीय महिलासँगै विवाह गरेका उनले भान्जीलाई आफ्नै छोरी बनाएर भारतमै जन्मदर्तासमेत गराए।
यसैबीच चार वर्ष पहिले यमुनामाथि तिनै बुवा अर्थात् मामाले दुर्व्यवहार गरे। त्यो कुरा छिमेकीले थाहा पाए।
स्थानीयले यमुनालाई उद्धार गरि राजकीय बालगृह पुर्याए। मुद्दा अदालत पुग्यो। यमुनाले मुद्दा जितिन्। मामा पक्राउ परे। उनी अहिले पनि थुनामै छन्।
दाजुले एक दिन बहिनी सन्तोषीलाई जेलबाटै फोन गरे।
‘तेरो छोरी मैले चोरेर ल्याएको थिएँ। म अहिले जेलमा छु। छोरी अहिले भारतको अल्मोडा जिल्लाको धारानौला राजकीय बालगृहमा छे,’ सन्तोषीको कुरा उद्धृत गर्दै नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत पवित्राकुमारी पुरीले सेतोपाटीसँग भनिन्।
गाउँलेको सहयोगले बालगृह पुगेकी यमुनालाई दुई वर्ष अगाडि बालगृहले किशोरी शाखामा राखेर संरक्षण गर्दै आएको थियो।
आशा मारिसकेको छोरीबारे दाजुको कुराले सन्तोषीको मनमा बैचैनी भयो। अब छोरी कसरी घर ल्याउने? भन्ने चिन्ताले सन्तोषीलाई पिरोल्यो। उनले त्यो कुरा समाजलाई भनिन्। समाजबाटै बालअधिकारकर्मी सल्मान सल्मानी र ऋतिक शाहीसम्म कुरा पुग्यो।
उनीहरुले प्रहरी प्रशासनदेखि महिला विकासका अधिकारीसँग समन्वय गरे।
नेपालगन्ज २ का वडाध्यक्ष सुनिलसिंह हमालले यमुनालाई नेपाल फर्काउन आवश्यक कागजात बनाउन सहयोगी भूमिका खेले।
‘उहाँ आएर एउटै कुराको माग गर्नुभयो- मेरो छोरी भारतको बालगृहमा छ। नेपाल ल्याउन उनको जन्मदर्ता गराइदिनुपर्यो,’ वडाध्यक्ष हमालले त्यतिबेलाको संवाद सम्झदै भने, ‘त्यसपछि मैले उहाँलाई सोधे, के पहिला जन्म दर्ता गराउनु भएको थियो? उहाँले दर्ता गराएको भए पनि बेपत्ता छोरी नपाउने भएपछि च्यातेर फालेको बताउनुभयो।’
जन्मदर्ता गराउन हमालले सघाएनन् मात्रै साँच्चिकै भनिए जस्तै उनकी छोरी भारतकै बालगृहमा छन् कि छैनन्, भनेर सोधिखोजी गरे। उनले भनेजस्तै यमुना बालगृहमा रहेको तथ्य पत्ता लागेपछि हमालले नै सन्तोषीलाई भारत आउन-जानका लागि आर्थिक सहयोग गरे।
अध्यक्ष हमालका अनुसार बालअधिकारकर्मी सल्मान सल्मानी र ऋतिक शाहीले यमुनाको अवस्था पत्ता लगाउन सघाए।
सल्मानी र शाही यमुनाको अवस्था बुझ्न भारतकै बालगृहमा पुगे। त्यहाँ गएर कुरा गर्दा भारत सरकारले किशोरी नेपाली भएको मान्न तयार भएन।
‘मामाले आफ्नै छोरी हो भनेर फर्जी जन्मदर्ता गराइसकेकाले सक्कली आमा बुवाले यमुना आफ्नै छोरी हुन् भनेर पेश गरेका कागजजात भारतीय अदालतले स्वीकार गरेन,’ महिला विकास अधिकृत पुरीले भनिन्, ‘त्यसपछि आमा सन्तोषीको डिएनए परीक्षण पछि यमुना उनकै छोरी भएको पुष्टि भएपछि मात्र अदालत यमुनालाई नेपाल फर्काउन सहमत भयो।’
स्थानीय सरकार प्रमुख, सम्बन्धित सरोकारवाला र प्रहरी प्रशासनको रोहवरमा मात्रै यमुनालाई नेपाल फर्काउन भारतीय पक्ष तयार भयो।
त्यसपछि नेपालगन्ज उपमहानगरकी महिला विकास अधिकृत पुरी, नेपालगन्ज – २ का वडाध्यक्ष सुनिलसिंह हमाल, शक्ति समूहकी निर्मला पौडेल, बाल अधिकारकर्मी सल्मानी र शाही, आमा सन्तोषीलगायतको समूह फागुन ७ गते भारत गयो।
अल्मोडास्थित बालगृहको किशोरी शाखामा पुगेर ती १६ वर्षीया यमुनालाई सन्तोसी नै उनकी सक्कली आमा भएको कुरा बुझाए।
त्यसपछि यमुना नेपाल आउन राजी भएको पुरीले सेतोपाटीसँग भनिन्। ‘बालगृहमा यमुनाको राम्रो रेखदेख थियो,’ उनले भनिन्, ‘यतिका वर्षपछि आमा छोरीको मिलन हुँदा उनीहरू मात्रै होइन हाम्रा आँखा पनि खुसीले रसाए।’
उनीहरू फागुन १३ गते यमुनालाई लिएर नेपालगन्ज आइपुगे।
एक दिन घरमा बसेपछि फागुन १५ गते उपमहानगरपालिकाले औपचारिक कार्यक्रम गरी छोरी यमुनालाई आमा सन्तोषीको जिम्मा लगाएको वडा प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक डिल्ली खड्काले बताए।
‘कार्यक्रममा म आफैं उपस्थित थिएँ,’ खड्काले भने, ‘सिनेमाको कथा जस्तो लाग्ने घटना र यतिका वर्षपछि आमाले छोरीलाई अंकमाल गरेको दृष्यले सबै रोमाञ्चित र भावुक बनेका थियौं।’
महिला विकास अधिकृत पुरीका अनुसार भारतको जिल्ला अदालतले यमुनाको पक्षमा फैसला गरेपछि मामाले फेरि हाईकोर्टमा आफ्नो तर्फबाट निवेदन दिएका छन्। त्यसैले मुद्दा विचाराधीन छ, उनी थुनामै छन्।
‘लगातार चार वर्षको प्रयासपछि आमा छोरीको पुनर्मिलन गराउन पाउँदा खुसी लागेको छ,’ वडाध्यक्ष हमालले भने, ‘अब यमुनाको भविश्यको लागि शिक्षा र सिपमुलक केही कुराहरू सिकाउन आवश्यक छ।’
परिवारको आर्थिक अवस्था कमजोर रहेको, बुवा प्यारालाइसिस, आमाको पनि कुनै इलम वा जागिर नभएको, ६ सन्ता भएकाले यमुनालाई समाजमा पुनर्स्थापना गर्न अध्यक्ष हमालले आग्रह गरे।
यतिका वर्षपछि बहिनी आउँदा घरमा खुसीयाली छाएको छ- दाजु
यमुनाका एक दाजुका अनुसार यतिका वर्षपछि बहिनी घर फर्किएकोमा परिवारमा खुसियाली छाएको छ।
‘प्यारालाइसिस भएर ओछ्यान परेका बुवाको अनुहारमा हाँसो छाएको छ,’ २३ वर्षीय ती दाजुले भने, ‘आमा बहिनी आएदेखि मन्दिरमा पूजा गर्न जान थाल्नुभएको छ। परिवारमा खुसीयालीनै खुसीयाली छ।’
बहिनी पनि हराएको आफ्नो परिवार भेट्दा खुसी भएको उनले बताए।
‘बहिनी हामीसँग बसेर कुरा गर्छिन्। यतिका वर्ष पछाडि हराएकी आफ्नै जेठी बहिनी घर फर्किएर आउँदा मन खुसी नहुने कुरै भएन,’ उनले भने, ‘बहिनी पनि साह्रै खुसी छिन र हामी पनि बहिनी आउँदा खुसी छौं।