महिनावारीका कुरा- दोस्रो शृंखला
सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिएर आएका छौं। यसमा सुदूरपश्चिमको महिनावारी अनुभव प्रकाशन गर्नेछौं।
...
यो महिनावारी कथा अछामको चौरपाटी गाउँपालिका– ७, मार्कु गाउँकी १९ वर्षीया यज्ञ बोगटीको हो।
उनी १६ वर्ष उमेरमा जंगलमा घाँस काट्दै गर्दा पहिलोपटक महिनावारी भएकी थिइन्। कक्षा ९ को जाँच दिएर नतिजा कुरिरहेकी उनको दैनिकी मेलापात, घाँसदाउरा र घरको काममै बित्थ्यो।
महिनावारी भएपछि उनी घाँसको भारी बोकेर डराउँदै घर फर्केकी थिइन्।
भारी खलियानमा बिसाएर उनी हजुरआमा बस्ने घरमा गइन्। हजुरआमा आँगनमा गहुँको बिस्कुन सुकाइरहेकी थिइन्।
यज्ञ हजुरआमाको छेउमै बसिन्। म महिनावारी भएँ भन्न उनलाई लाज र डर दुवै लाग्यो।
'भन्छु भन्ने त सोचेँ तर सकिनँ,' उनले भनिन्, 'मनले भन्न खोजे पनि बोल्ने आँटै आएन। म केही बोल्दै नबोली घर फर्केँ।'
यज्ञका आमाबुवा रोजगारका लागि भारत गएका थिए। घरमा दुई बहिनी मात्र थिए। घर र बहिनीहरूको जिम्मा यज्ञकै काँधमा थियो।
उनले आफू महिनावारी भएको बहिनीलाई सुनाइन्। बहिनीले कुनै प्रतिक्रिया दिइन। यस्तो बेला के गर्नुपर्छ भन्ने उनलाई थाहा पनि थिएन।
केही बेरपछि यज्ञले भारतमा रहेका आमाबुबालाई फोन गरेर सबै कुरा बताइन्।
महिनावारी हुँदा छाउगोठमा बस्नुपर्छ भन्ने यज्ञलाई पहिल्यै थाहा थियो। उनलाई सबभन्दा ठूलो डर नै यही थियो। केही वर्षअघि आमा छाउगोठमा बस्दा उनी खानेकुरा दिन गएकी थिइन्। गोठको धुरीमा देखिएको कालो मोटो सर्पले उनको सातोपुत्लो उड्यो।
त्यो घटनापछि यज्ञलाई छाउगोठ भन्नेबित्तिकै डर लाग्थ्यो। झन् आफैं बस्नुपर्ने भएपछि उनको डरको सीमै रहेन।
उनले आमाबुबालाई फोन गरेर भनिन्, 'म त गोठमा बस्दिनँ। घरमा बस्छु।'
जवाफमा उनीहरूले भने, 'घरमै बसिस् भने गाउँका छरछिमेकीले के भन्लान्! आफ्नी छोरीलाई मात्र घरमा बसाल्यो भनेर कुरा काट्न थाल्छन्। भोलि गाह्रो हुन्छ। त्यसैले जसरी भए पनि छाउगोठमै बस्।'
यज्ञले आमाबुवाको कुरा टार्न सकिनन्।
बहिनीसँग ओढ्ने, ओछ्याउने मागेर उनी घर नजिकैको छाउगोठमा बस्न गइन्।
बहिनीहरू सानै थिए। खाना राम्ररी पकाउन जान्दैन थिए। दिदी छाउगोठमा बस्न गएपछि साना बहिनीहरूले नै जसोतसो खाना बनाए र यज्ञलाई पुर्याउन गए।
'पहिलो रात निन्द्रै लागेन। निदाउन खोज्यो कि त्यही कालो सर्प आएजस्तो हुन्थ्यो। सर्प सम्झिनेबित्तिकै जीउभरि काँडा उम्रिएर आउँथ्यो,' यज्ञले भनिन्, 'छाउगोठमा बिजुली पनि थिएन। सानो मोबाइलको मधुरो उज्यालोमै मैले पूरा रात काटेँ।'
यो पनि हेर्नुहोस्:
भोलिपल्ट उनी जंगलको बाटो हिँडेर आधा घन्टा टाढाको धारामा नुहाउन गइन्। गाउँमा महिनावारी भएका महिलाहरूका लागि नुहाउन भनी तोकिएको धारा त्यही थियो।
'घरनजिकै पनि धारा त थियो तर छुन दिइन्नथ्यो,' उनले भनिन्।
महिनावारी भएकाहरूका लागि बनाइएका धारामा वैशाख-जेठमा पानी कम आउँथ्यो। सरसफाइ गर्न पुग्दैन थियो। जाडोमा त अझ धेरै समस्या हुन्थ्यो। चिसोले कति जना बाटैमा बेहोस भएको यज्ञले सुनाइन्।
यसरी छाउगोठमा बस्दा र बिहान-बिहान आधा घन्टा हिँडेर नुहाउन जाँदा यज्ञलाई निकै गाह्रो भयो। न उनी राम्ररी सुत्न पाउँथिन् न खान पाउँथिन्। एक्लै बस्न डर लागेकाले सुरूमा बहिनीलाई पनि सँगै सुताएकी थिइन्। तर बहिनीले गोठमा बसे बिहान नुहाउन जानुपर्ने झन्झटले सुत्न मानिनन्।
सात दिनपछि यज्ञ बिरामी नै परिन्।
उनको गाउँमा पहिलोपटक महिनावारी हुँदा १४ देखि १५ दिन छाउगोठमै बस्नुपर्ने चलन छ। यज्ञले भने जसोतसो नौ दिन काटिन्, त्यसपछि चाहिँ सहन सकिनन्।
'यता आफूलाई सन्चो भएन, उता बहिनीहरूलाई पनि साह्रै दु:ख। त्यसैले गाउँलेले जेसुकै भनोस् भनेर म नौ दिनमै घर फर्किएँ,' उनले भनिन्।
पहिलोपटक छाउगोठमा बसेको त्यो क्षण यज्ञलाई जिन्दगीकै सबभन्दा बिर्सन नसक्ने पल लाग्छ। त्यो बेलाको दु:ख सम्झिएर उनले अर्कोपटक कहिल्यै गोठमा बस्दिनँ भन्ने सोचेकी थिइन्।
दोस्रोपटक महिनावारी हुँदा उनले फेरि आमाबुवालाई फोन गरेर छाउगोठमा नबस्ने बताइन्। तर आमाबुवाले मानेनन्।
उनले फेरि छाउगोठको कष्ट सहनुपर्यो।
उनलाई महिलाहरूले भोग्नुपर्ने यो पीडाबारे सबैलाई सुनाउन मन थियो। यो कुप्रथाबारे बहस गर्न मन थियो।
यज्ञ स्कुलका अतिरिक्त्त क्रियाकलापमा सक्रिय थिइन्। उनी आबद्ध बालक्लबले महिनावारी, बाल विवाहजस्ता प्रथाले किशोरी र बालबालिकालाई पारेका समस्याबारे आवाज उठाउने गर्थ्यो। त्यही बालक्लबका माध्यमबाट उनले महिनावारीका कारण दर्जनौं महिलाले अकालमै ज्यान गुमाउनुपरेको थाहा पाइन्। पोषिलो खानेकुराको अभाव, स्कुल जान नसक्ने बाध्यता र स्वास्थ्यका अनेक समस्याबारे जानकारी पाइन्।
पछि थुप्रै सरकारी तथा गैरसरकारी संस्थाहरूले आयोजना गरेका जनचेतनामूलक कार्यक्रममा उनी सहभागी बन्दै गइन्। यसले महिनावारीसम्बन्धी उनको ज्ञान फराकिलो हुँदै गयो।
यही क्रममा एउटा कार्यक्रमले उनलाई छाउगोठमा बस्न छाडेर घरमै बस्ने साहस दियो।
झन्डै अढाई वर्षअघि जिल्ला सदरमुकाममा आयोजित छाउपडी प्रथासम्बन्धी उक्त सातदिने कार्यक्रममा यज्ञसहित २५ जना किशोरी सहभागी थिए। सहभागी किशोरीहरूलाई 'अबदेखि हामी छाउगोठमा बस्दैनौं' भनेर दियोमा हात राखेर कसम खान लगाइएको थियो।
सुरूमा यज्ञ लगायत उनका साथीहरू कसम खान हच्किएका थिए।
'हामीले कसम खाएर के गर्नु, फेरि गाउँमा गएर छाउगोठमा बस्नैपर्छ। बस्दैनौं भने पनि समाजले मान्दैन,' यज्ञले भनिन्, 'त्यसैले हामीले कसम नै नखान खोजेका थियौं।'
प्रशिक्षकहरूले सबैलाई सम्झाए, 'हरेक परिवर्तनको सुरूआत आफैंबाट गर्ने हो। एक जनाले यो प्रथा अन्त्य गर्न आँट गरे त्यसले अरू धेरैलाई प्रभाव पार्छ। तपाईंहरू २५ जनाले सुरूआत गर्नुभयो भने अरू २५ जना यसबाट प्रभावित हुनेछन्। उनीहरूले पनि छाउगोठ बहिष्कार गर्न आँट गर्नेछन्।'
यसैबाट हौसिएर आफूसहित कार्यक्रममा सहभागी सबैले दियोमा हात राखेर कसम खाएको उनले सुनाइन्।
'त्यस दिन कसम खाएर फर्किँदा म एकदमै डराएकी थिएँ। आमाबुवालाई फोन गरेर यो कुरा सुनाएँ। उहाँहरूले ठिकै छ भन्नुभयो,' यज्ञले भनिन्, 'सँगै अर्को घरमा बस्ने हजुरआमा र छरछिमेक भने यसलाई स्वीकार गर्ने पक्षमा थिएनन्।'
छरछिमेकले जे भने पनि आमाबुवाको साथ पाएपछि यज्ञले छाउगोठमा बस्न छाडिन्।
त्यो घटनापछि कतिपय आफन्तले आफूसँग कुरा गर्न छाडेको र बाटोमा भेट्दा पनि तर्किएर हिँड्न थालेको उनी सम्झन्छिन्।
यज्ञ भने आफ्नो निर्णयबाट टसमस भइनन्। छाउगोठमा नबस्ने कसममा अडिग रहिन्।
यसरी महिनावारी हुँदा पनि घरमै बस्न थालेपछि उनलाई व्यक्तिगत रूपमा त सन्चो भयो तर गाउँमा कसैलाई बिसन्चो भए उनकै कारणले भएको हो भन्ने अवगाल आउन थाल्यो।
हजुरआमा लगायत आफन्त र छरछिमेकले त यज्ञको घर आउनै छाडिदिए।
'गाउँलेहरूलाई विश्वासमा लिन गाह्रो थियो। मेरो मुखेञ्जी आएर कसैले केही भन्न सकेनन् तर मलाई गर्ने व्यवहार राम्रो भएन। म सबैसँग खुलेर बहस गर्ने मान्छे हुँ। मैले जनप्रतिनिधिहरूलाई पनि यो कुरा सुनाएँ,' उनले भनिन्, 'म गाउँमा सडक नाटक चलाउँथेँ, चेतनामूलक कार्यक्रमहरू पनि गर्थें।'
यज्ञले आँट गरेर छाउगोठ त्यागे पनि उनीसँगै कसम खाएका साथीहरूले भने छाउगोठबाट मुक्ति पाएनन्। उनीहरूले समाजको डरले आफ्नो कसम पूरा गर्न नसकेको यज्ञ बताउँछिन्।
असुरक्षित महिनावारीविरूद्ध आवाज उठाउँदा यज्ञले धेरैको व्यक्तिगत रिसिइबीसमेत सहेकी छन्। सरकारले यस्तो चलन तोड्न कानुन बनाए पनि गाउँदेखि सहरसम्मका महिला यो समस्यासँग जुधिरहेको उनको भनाइ छ।
यज्ञले गाउँकै स्कुलमा १८ महिने सब-ओभरसियर पढेकी थिइन्। अहिले उनी अधिवक्ता बन्ने इच्छाले कानुन संकाय अध्ययन गर्न दुई वर्षदेखि धनगढीमा छिन्। यहाँ आएपछि छाउपडीबाट मुक्ति पाइएला भन्ने सोचेकी थिइन्। तर यो कुप्रथाले सहरमा पनि नछाडेको उनी बताउँछिन्।
'धनगढीमा गाउँमा जस्तो छाउगोठ त छैन तर महिनावारीको बहानामा डेरा पाउनै मुश्किल छ,' उनले भनिन्, 'पाए पनि नल्का, घरभित्रको शौचालय र खानेपानी छुन पाइँदैन।'
उनले अगाडि भनिन्, 'मेरो त सँगै बस्ने बहिनीहरू छन्। उनीहरूले नै पानी ओसार्छन्, खाना पकाउँछन्। एक्लै केटी मान्छे भए त खानेपानी छुन नपाएपछि कस्तो समस्या हुन्छ होला? त्यही भएर एक्लै केटी मान्छेलाई यहाँ डेरा पाउनै गाह्रो छ। हामीले गाउँमा गोठमा बस्दैनौं भनेर संघर्ष गर्नुपर्यो, सहर आएपछि खानेपानीका लागि नल्काधारा छुन पाउनुपर्छ भनेर संघर्ष गर्नुपरेको छ।'
यज्ञका आमाबुवा अहिले पनि भारतमै छन्। घरखर्च चलाउन उनीहरूलाई उतै बसेर काम नगरी सुख छैन। यता यज्ञको वडा छाउपडीमुक्त घोषणा भएको छ। तर छाउगोठमा असुरक्षित बस्ने चलन उस्तै छ। जिल्लाभरि यो चलन कायमै रहेको उनी सुनाउँछिन्।
'घरघरमा धारा भएकाले पहिलेभन्दा अलि सजिलो छ तर पूरै हटिसकेको छैन,' उनले भनिन्, 'सहरमा समेत महिनावारीको भेदभाव नहटेका बेला गाउँमा पूरै हट्छ भन्ने के आश गर्नु?'
'महिनावारीका कुरा' को पहिलो शृंखलामा प्रकाशित स्टोरीहरू: