काठमाडौं प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बुद्धनगरकी जानकी श्रेष्ठलाई भेट्न जाने भएका छन्।
बुद्धनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा जानकीको पसलमा क्षति पुगेको थियो।
त्यसैबारे बुझ्न प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी जानकीलाई भेट्न जान लागेका हुन्।
‘आज दुई बजे सिडिओ र एसएसपीले भेट्न आउँछु भन्नुभएको छ,’ उनले भनिन्।
यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक गिरीले पनि आफूहरू जान लागेको पुष्टि गरेका छन्।
‘जानुपर्ने हाम्रो कर्तव्य नै हो। हामी समय मिलाउँदैछौं,’ उनले भने।
आइतबार बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन भएको थियो। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
बुद्धनगरमा रहेको जानकीको पसल अगाडि पनि प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको थियो। सुरूमा प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो। तर पछि प्रदर्शनकारीले पाँच प्रहरीलाई घेरा हालेर ढुंगामुढा गरेका थिए।
ती प्रहरीले जानकीको पसलभित्र पसेपछि प्रदर्शनकारीले पसलमै ढुंगामुढा गरेका थिए। जसकारण जानकीको पसलमा क्षति पुगेको थियो।
त्यसैको अवस्था बुझ्न सिडिओ र एसएसपी बुद्धनगर जान लागेका हुन्।
यो पनि: 'प्रहरीले धन्यवाद त दिनुभयो तर मेरो घाटाको जिम्मा कसले लिन्छ?' (भिडिओ)