चितवनको सरकारी कोभिड-१९ परीक्षण ल्याबका पूर्वकर्मचारीले नक्कली पिसिआर रिपोर्ट तयार पारेर बिक्री गर्ने गरेको भेटिएको छ।
भरतपुरस्थित देव अस्पतालका हेल्थ असिस्टेन्स सन्दीप सापकोटासँग मिलेर कोभिड ल्याबका पूर्वकर्मचारी प्रकाश न्यौपानेले नक्कली रिपोर्ट तयार पारेको भेटिएको हो।
नक्कली रिपोर्टमा उनीहरूले भरतपुर अस्पतालको छाप दुरूपयोग गरेको भेटिएको प्रहरीले बतायो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालका अनुसार उनीहरूले भरतपुर अस्पतालको छाप र कोभिड ल्याबका प्रमुखको हस्ताक्षर नक्कली प्रयोग गरेर रिपोर्ट तयार पार्ने गरेका थिए।
नक्कली पिसिआर रिपोर्ट बनाएको विषयमा सूचना प्राप्त भएपछि भरतपुर-१३ घर भएका सापकोटा र रत्ननगर-६ का न्यौपानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताइन्।
'अपरेसनअघि बिरामीको पिसिआर रिपोर्ट नेगेटिभ चाहिने भएकाले उनीहरूले नक्कली रिपोर्ट बनाएर दिने गरेका रहेछन्। देव अस्पतालका बिरामीको रिपोर्ट नक्कली भएको सूचना पाएपछि हामीले दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' प्रहरी निरीक्षक नरालले भनिन्, 'उनीहरूले कति जनाको नक्कली रिपोर्ट बनाए भन्ने कुरा बुझ्दैछौं।'
उनीहरूले पिसिआर परीक्षणबापत बिरामीबाट २ हजार रुपैयाँ लिएका थिए। त्यसका लागि अस्पतालमा कार्यरत सापकोटाले स्वाब संकलन गर्थे। बिरामीबाट लिएको २ हजारलाई दुई जनाले बाँडेर लिने गरेका थिए।
प्रहरीका अनुसार न्यौपानेले कोभिड ल्याबमा काम गर्दा पनि देव अस्पतालका बिरामीको रिपोर्ट उपलब्ध गराउँथे।
'अहिले पनि त्यही काम गर्ने ठानेर अस्पतालले विश्वास गरेको हो कि के हो भन्ने विषयमा अनुसन्धान हुँदैछ,' उनले भनिन्, 'यो काममा को-को संलग्न छन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।'
सापकोटाले अस्पतालले मोबाइलमा पठाउने रिपोर्टलाई मिलाएर मोबाइलबाटै नक्कली रिपोर्ट तयार पार्ने गरेको भेटिएको उनले बताइन्।