नेपालमा पछिल्लो एक सातादेखि कोरोना संक्रमण दर निरन्तर ओरालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक सातामै संक्रमण दर १८ प्रतिशतले घटेको छ।
मन्त्रालयको तथ्यांक अनुसार माघ १८ गते संक्रमण दर ३१.५८ प्रतिशत रहेकोमा सोमबार संक्रमण दर जम्मा १३.८१ प्रतिशत थियो। यो तथ्यांकले संक्रमणको जोखिम कम हुँदै गएको बुझाउँछ।
संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पनि नेपालमा कोरोना संक्रमण शान्त भएको उल्लेख गर्दै अब यो लहरमा खराब स्थिति फेरि फर्किने सम्भावना नरहेको बताएका छन्।
'अहिले संक्रमण घटेको हो। स्थिति शान्त भएको छ। अब यो लहरमा 'यूटर्न' हुने सम्भावना देखिँदैन,' पुनले भने,'भाइरस उत्परिवर्तित हुने कुरा त सधैं नै भइहाल्छ तर अब हामी सामान्य अवस्थातिर गइरहेको भन्ने चाहिँ हो।'
स्वास्थ्य मन्त्रालयले पनि नेपालमा माघको दोस्रोदेखि तेस्रो साता संक्रमण उत्कर्षमा पुग्ने र त्यसपछि घट्दै जाने प्रक्षेपण गरेको थियो। नभन्दै माघको दोस्रो सातातिर संक्रमण उत्कर्षमा पुगेको थियो। त्यो बेला संक्रमण दर ५० प्रतिशतसम्म पुगेको थियो। जुन भनेको दुई जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुनु हो।
माघको पहिलो सातादेखि नै संक्रमण दर बढ्न थालेपछि संक्रमणको जोखिम औंल्याउँदै सरकारले काठमाडौं उपत्यकामा सवारी चलाउनका लागि जोर-बिजोर प्रणाली लागू गरेको थियो।
साथै, भिडभाडजन्य गतिविधि नगर्न र विद्यालय समेत बन्द गरेको थियो। तर पछिल्लो साता संक्रमण दर घट्न थालेपछि जोर-बिजोर प्रणाली हटाउनेदेखि विद्यालय पनि फागुन १ गतेदेखि सञ्चालन गर्न दिने भनिएको छ।
तर संक्रमण दर घटिरहेको अवस्थामा फेरि के संक्रमण बढ्न सक्छ? भन्ने प्रश्नमा डाक्टर पुन भन्छन्, 'अहिले पनि संक्रमितहरू देखिएका छन्। समुदायमा संक्रमण छैन भन्ने हैन तर धेरै मानिसहरू संक्रमित भइसकेका कारण र कतिपयले संक्रमणको शंका भए पनि मानिसहरू आफैं घरमा आराम गर्न रूचाउँछन्। त्यसलै तथ्यांकमा फेरि संक्रमण उकालो लाग्छ भन्ने लाग्दैन।'
डाक्टर पुनले नेपालमा धेरै मानिसले खोप लगाएको उल्लेख गर्दै संक्रमणको जोखिम केही कम रहेको जनाए।
नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी मानिसले पूर्ण मात्रा खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ५३.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। साथै, एक मात्रा खोप लगाउने मानिस ७० प्रतिशत छन्।
विश्व स्वास्थ्य संगठनले नेपाल दक्षिण एसियामा धेरै खोप लगाउने देश रहेको उल्लेख गर्दै धन्यवाद दिएको थियो।
तर संक्रमण दर निरन्तर ओरालो लागेको देखिए पनि अहिले पनि अस्पतालहरूको चाप भने घटेको छैन।
अहिले पनि काठमाडौंका अधिकांश अस्पतालमा कोरोनाका बिरामीको चाप घटेको छैन। साथै, गम्भीर बिरामीको संख्या पनि उतिकै छ। यसमा डाक्टर पुन अस्पतालमा बिरामीको चाप घट्न अझै दुई साता लाग्ने बताउँछन्।
उनले अहिले अस्पतालमा रहेका बिरामीहरू केही साता अगाडि भेटिएका संक्रमितहरू रहेको उल्लेख गर्दै अब अस्पतालमा बिरामीको चाप घट्न कम्तीमा दुई साता लाग्ने बताए।
मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म देशभर २ सय ५५ जना आइसियूमा छन् भने ४२ जना भेन्टिलेटरमा छन्। तर यो संख्या पनि अघिल्लो लहरहरूको तुलनामा आधा कम हो। किनकि दोस्रो लहरमा दैनिक आइसियूमा रहने बिरामीको संख्या झन्डै ५ सय पुगेको थियो भने दैनिक २ सय जना बढीको पनि मृत्यु भएको थियो। जबकि तेस्रो लहरमा एकैदिन मृत्यु हुने संख्या २० नाघेको छैन। हिजो पनि जम्मा १३ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए।
पछिल्लो सातादेखि संक्रमण दरमा देखिएको सुधारले तेस्रो लहर बिस्तारै सामान्य अवस्थातिर गएको उल्लेख गर्दै अब सामान्य जीवनमा फर्किन सकिने डाक्टर पुनको भनाइ छ।
उनले अन्य म्युटेसनहरू सम्भावना रहे पनि अब तेस्रो लहरको उत्कर्षको समय भने सकिएको उल्लेख गर्दै अब फेरि खराब स्थिति नआउने जनाए।