तुलसीपुर घोराही फोर लेन सडक बिस्तारको जिम्मा लिएका अनुप पाण्डेविरूद्ध पौने ६ करोड बढी ठगी गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी परेको छ।
पीडितमध्ये १६ जनाले जिल्ला प्रशासन कार्यालयमा र एक जनाले जिल्ला प्रहरी कार्यालयमा पाण्डेविरूद्ध ठगी मुद्दा दिएका छन्।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले माघ १४ गतेसम्म १६ जनाले अनुप पाण्डेविरूद्ध ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको सेतोपाटीलाई बताए।
‘माघ १४ गतेसम्म १६ जनाले ४ करोड ४५ लाख ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा आएर निवेदन दिनुभएको छ,’ प्रजिअ रेग्मीले भने, ‘मैले ती सबै निवेदन संकलन गरी आयोजना कार्यालयमा पठाइदिएको छु।’
ठगीको आधार प्रमाण के हो? भन्नेबारे समेत आफूले निवेदकहरूलाई उल्लेख गर्न लगाएको प्रजिअ रेग्मीले जानकारी दिए।
‘सकेसम्म मिलापत्रै गर्ने र पीडितले पैसा पाऊन् भन्ने हिसाबले सक्कली निवेदन नै मैले आयोजनाको कार्यालयमा पठाइसकेको छु,’ उनले भने, ‘आयोजनाले यो विषयलाई कसरी हल गर्ने प्रत्यत्न गर्छ त्यो हेर्न बाँकी छ।’
पीडितले आयोजनाबाट न्याय नपाए फेरि ठगी मुद्दा लिएर प्रहरीमा जानुपर्ने अवस्था आउन सक्ने रेग्मीले बताए।
एक जना व्यवसायीले भने जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीकै आग्रहमा आफूहरू अन्यायमा परेको भनेर लिखित रूपमा निवेदन दिँदा पनि प्रशासनले ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा आफूहरूलाई न्याय दिन देखाउनु पर्ने जति चासो नदेखाएको गुनासो गरे।
‘प्रशासनकै मानिसले मेयरको आग्रहमा हाम्रा निवेदनमा नजर नै लगाएनन्,’ ती व्यवसायीले भने, ‘प्रशासनकै मानिसका बीचमा मिलेमतो हुँदा हाम्रो घर जग्गा सबै बन्धक बन्ने अवस्था आउन थाल्यो।’
पाण्डेविरूद्ध घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेर १ करोड ४४ लाख ठगी गरेको भन्दै जाहेरी दिएका छन्।
पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका छन्।
पाण्डेले तुलसीपुर-घोराही चार लेन सडकमा आफ्ना नौ वटा टिपर प्रयोग गरेबापतको भाडा र डिजल खर्चसमेत नदिएको बस्नेतले सेतोपाटीलाई बताए।
‘पैसा आउला र सबैतिर तिरौंला भन्ने थियो,’ बस्नेतले भने, ‘धेरै आग्रह गर्दा पनि पैसा नदिएर अहिले पाण्डे सम्पर्कविहीन भएपछि म प्रहरीमा जान बाध्य भएको हुँ।’
जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बस्नेतले दिएको उजुरीमाथि अध्ययन भइरहेको तथा दर्ता प्रक्रिया सुरू गरिएको जानकारी दिए।
‘पीडित प्रहरीमा आएपछि हामी मुद्दा दर्ता गछौं र त्यहीअनुसार कारबाही प्रक्रिया पनि थाल्ने छौं,’ एसपी काफ्लेले भने।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा अनुपले तुलसीपुरको हात्तीखौवादेखि घोराहीको बबई खोलासम्म चार लेन सडक बिस्तारको ठेक्का लिएका थिए।
सडक निर्माणको जिम्मा भारतको तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रालिले पाए पनि उसले आफ्नो आधिकारीक नेपाल प्रतिनिधिका रूपमा पेटी ठेकेदारका रूपमा अनुप पाण्डेलाई तोकेको थियो।
यो पनि पढ्नुस्: