सहरको कथा: पनौती
पनौतीका मान्छेलाई तपाईं फ्रान्सेलीहरूबारे सोध्नुहोस्, उनीहरूको अनुहारमा उज्यालो छाउँछ। फ्रान्सेलीहरूले पनौतीका लागि जे गरे, त्यसनिम्ति उनीहरू सधैं कृतज्ञ छन्।
फ्रान्ससँग पनौतीको यो प्रेम एकोहोरो होइन। फ्रान्सेलीहरूलाई पनि पनौतीसँग अगाध प्रेम छ।
यो प्रेम नै हो, जसका कारण फ्रान्सको एउटा सहरको एउटा गल्लीलाई पनौती नामाकरण गरिएको छ। आजको अंकमा तपाईंहरूलाई म त्यही गल्लीमा लिएर जाँदैछु। त्यसअघि फ्रान्स र नेपालको सम्बन्धबारे चर्चा गर्छु है!
फ्रान्सेलीहरूको नेपाल अनुभव समेटेर लेखक ददि सापकोटाले 'त्यो नेपाल (फ्रान्सेली अनुभव)' नामक किताब लेखेका छन्। उक्त किताबको मन्तव्य लेखेकी कल्पना घिमिरे (नुरिस्सोँ) का अनुसार सन् १६५४ मा राजा प्रताप मल्लले काठमाडौंको हनुमानढोका दरबारमा लेखाएको शिलापत्रमा फ्रान्सेली शब्द परेको छ।
प्रताप मल्लले कालिका देवीको सम्मानमा हनुमानढोका प्रांगणमा विभिन्न पन्ध्रवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषा एवं लिपिमा कुँदाएको शिलापत्रमा तीन 'फिरंगी' शब्द पाइन्छन्, कल्पनाले लेखेकी छन्, 'तीमध्ये दुई शब्द फ्रान्सेली हो जसले शरद र हेमन्त ऋतुको अर्थ दिन्छ। 'विन्टर' अर्थात् जाडो भन्ने अंग्रेजी वा जर्मन शब्द हो। नेपालको राजकीय शिलापत्रमा फिरंगी शब्दको उपस्थितिले फ्रान्स–नेपाल सम्बन्धको प्राचीनता औंल्याउँछ।'
इतिहासकार गौतमवज्र बज्राचार्यको किताब 'हनुमानढोका राजदरबार' मा उल्लेख भएअनुसार राजा प्रताप मल्ल आफूलाई एक विशिष्ट व्यक्तिका रूपमा दर्शाउन चाहन्थे। यस कारण नयाँ–नयाँ अनौठा कुरा गर्न उनी मन पराउँथे। त्यही भएकाले दरबारको प्रांगणतिर फर्केको भित्तामा एउटा बडेमाको जलद्रोणी राख्न लगाई त्यसमाथि अरबी, फारसी, फ्रेन्च आदि विभिन्न भाषा र लिपिमा शिलालेख कुँद्न लगाए।
'धेरै भाषा र लिपि चिन्नु विद्वताको लक्षण हो भन्ने भाव उनले त्यहाँ देखाएका छन्,' गौतमवज्र लेख्छन्।
यसरी आफूलाई विशिष्ट व्यक्तिका रूपमा चिनाउन चाहने र विद्वताको लक्षण धेरै भाषा र लिपि चिन्नु हो भन्ने तत्कालीन बुझाइका कारण राजा प्रताप मल्लले विभिन्न स्रोतहरूबाट फ्रेन्च मात्र होइन, अरबी र फारसी भाषासमेत सिकेको शिलालेखबाट प्रस्ट हुन्छ।
उनले फ्रेन्च भाषा कसरी सिके होलान् भनेर अनुमान लगाउने एउटा आधार गौतमवज्रको त्यही किताबमा छ।
हनुमानढोका दरबारको मोहनचोकमा एउटा प्रस्तर मूर्ति छ जसमा पश्चिमा भेषभूषामा रहेकी एक युवती आफ्नी परिचारिकासहित बगैंचामा बसिरहेको देखाइएको छ। उनको काखमा एउटा सानो कुकुर छ। नजिकै एउटा बाँदर बसिरहेको छ। केही पर बगैंचाको रूखमा बसेर एउटा बालक खेलिरहेको देखापर्छ।
उक्त प्रस्तर मूर्तिमा ती युवती कतै हातमा वीणा लिएर बसेकी छन् भने कतै धूमपान गरिरहेकी छन्। कतै तराजु लिएर फलफूल जोखिरहेकी छन्। अर्को दृश्यमा ती युवतीले छ–सात वर्षको एउटा बालक अंगालिरहेको देखिन्छ। बालक चाहिँ हातमा दूरबिन लिएर हेरिरहेका छन्।
यसरी मल्लकालीन प्रस्तर मूर्तिमा पाश्चात्य भेषभूषाको चित्रण कसरी गरियो? सबभन्दा ठूलो कुरा त, यहाँ दूरबिनको प्रयोग कसरी भयो? के प्रताप मल्लकै पालामा काठमाडौं उपत्यकामा दूरबिन भित्रिसकेको थियो?
गौतमवज्र यो प्रस्तर मूर्तिमा देखाइएको दृश्यले प्रताप मल्लको दरबारमा पश्चिमाहरूको आगमनको संकेत मिल्ने बताउँछन्।
राजा प्रताप मल्लको समयमा ग्रुवर र दोर्भिल नामक दुई जना जेजुइट पादरी चीनबाट तिब्बतको बाटो हुँदै रोम फर्कंदा काठमाडौं पसेका थिए। तिनीहरूले उनलाई एउटा दूरबिन दिएका थिए। त्यस दूरबिनको उपयोगिता बुझेर प्रताप मल्ल उनीहरूदेखि साह्रै प्रसन्न भएका थिए। यी दुई जना पादरीबाहेक अरू पाश्चात्यहरूसँग पनि राजा प्रताप मल्लको सम्बन्ध रहेको थियो भन्ने गौतमवज्रको भनाइ छ।
'नयाँ र अनौठो कुरा गर्न मन पराउने राजा प्रताप मल्ल पाश्चात्य जीवनमा अभिरूचि लिने पहिलो व्यक्तिका रूपमा देखापरेका छन्,' उनी लेख्छन्।
यस आधारमा प्रताप मल्लले आफूलाई पाश्चात्य जीवनबारे जानकारी गराउने र दूरबिन उपहार दिने तिनै पादरी वा काठमाडौं उपत्यका भ्रमणमा आइपुगेका अन्य कुनै पाश्चात्यहरूबाट फ्रेन्च लगायत विदेशी भाषा सिकेको हुनसक्ने हामी अनुमान लगाउन सक्छौं।
अब हामी फेरि 'त्यो नेपाल' किताबमा उल्लिखित कल्पना घिमिरेको मन्तव्यतिरै फर्कौं।
उनका अनुसार सत्रौं शताब्दीमा फ्रान्सेली पादरी र त्यसपछि मुगल सम्राट औरंगजेबका पालामा फ्रान्सेली यात्रु, व्यापारी एवं एक डाक्टरले नेपाल भ्रमण गरी नेपाललाई पाश्चात्य संसारमा चिनाउन थाले। सन् १७७० दशकमा फ्रान्सेली सेनाका तीन अधिकृतले पनि नेपाल बसेर नेपाली सेना एवं तोपखाना व्यवस्थापनमा सहयोग गरे।
यति मात्र होइन, सन् १८५० मा जंगबहादुरले फ्रान्स भ्रमण गरे भने उन्नाइसौं शताब्दीको अन्त्यतिर फ्रान्सेली विद्वान देच, गुस्ताफ ल बों, सिल्भाँ लेवी लगायतले नेपाल भ्रमण गरी ऐतिहासिक र भौगोलिक अध्ययनका पुस्तकहरू प्रकाशन गरे।
उता जंगबहादुरपछि गोर्खाली सिपाहीहरू फ्रान्स पुगे। प्रथम विश्वयुद्ध (सन् १९१४–१९१८) मा फ्रान्सेली भूमिमा गोर्खाली सेनाको सराहनीय एवं सक्रिय सहभागिताले निकै प्रशंसा कमायो। यस्तो बहुआयामिक र शताब्दीऔं लामो सम्पर्कहरूले फ्रान्स–नेपाल सम्बन्धको बलियो जग बसालेको कल्पनाको भनाइ छ।
'सन् १९४९ मा स्थापना भएको दौत्य सम्बन्धले फ्रान्स-नेपालबीच सहयोग तथा सांस्कृतिक आदानप्रदानको अवसर प्रदान गर्यो। राजनीतिक, कूटनीतिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, वैज्ञानिक र पर्यटकीय क्षेत्रहरू ओगटेको यो सम्बन्धले दुवै देशका नागरिकलाई नजिक ल्यायो। यो क्रम १९९० दशकसम्म जारी रह्यो,' कल्पनाले किताबमा लेखेकी छन्।
फ्रान्स–नेपाल सम्बन्धको त्यो अवधिलाई उनले स्वर्णकालका रूपमा वर्णन गरेकी छन्।
तर एक दशक लामो माओवादी द्वन्द्वले देशमा निम्त्याएको अस्थिरता र फ्रान्सको परराष्ट्र नीतिमा बढ्दो व्यापारिक दृष्टिकोणले दुई देशबीचको सम्बन्ध खुम्चिँदै गयो।
कल्पनाका अनुसार फ्रान्स–नेपाल सम्बन्धको सबभन्दा सबल पक्ष भनेको अझैसम्म कायम रहेको जनस्तरको मित्रता एवं सद्भाव हो। त्यही मित्रता एवं सद्भावले अँठ्याएर राखेकैले होला, फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँको नेपालसँग सम्बन्ध बलियो हुँदै गयो।
यसै क्रममा तोफाँ र उनका वास्तुकार साथीहरूले पनौतीको पहिलोपटक अध्ययन गरेका थिए। त्यसअघि म्यारी स्लसरले यहाँको इन्द्रेश्वर मन्दिरको मात्र अध्ययन गरेकी थिइन्।
हाल फ्रान्सको पेरिसमा रहेका तोफाँसँग आइतबार राति हामीले जुम मिटिङ गरेका थियौं। उनले आफू र आफ्ना साथीहरू कसरी पनौती अध्ययन गर्न पुगेका थिए भनेर बिस्तारमा बताएका छन्।
फ्रान्समा मानवशास्त्र पढेका तोफाँ सन् १९७० मा नेपाल आएका थिए। यहाँ आएपछि उनी फ्रेन्च दूतावासमा आबद्ध भएर काम गर्न थाले। साथै, रानीपोखरीस्थित दरबार स्कुलमा फ्रेन्च शिक्षक भएर पनि काम गरे।
उनी यहाँ बस्दा आफ्नै विद्यार्थीसँग नेपाल भाषा सिक्दै थिए। झन् गोपालसिंह नेपालीको एउटा किताब पढेपछि त उनलाई नेवाः संस्कृतिमा झनै चासो बढ्यो। उनले ललितपुरको प्याङ गाउँलाई आफ्नो अध्ययन क्षेत्र बनाए। प्याङ गाउँ काठमाडौं उपत्यकाका आदिवासी ज्यापू समुदायको बसोबास रहेको सानो गाउँ थियो। जनसंख्या पनि थोरै भएकाले अध्ययन गर्न सजिलो क्षेत्र हुने उनले सोचेका थिए।
'तर त्यहाँका मान्छे त्यति धेरै बोल्दैनथे। यो विदेशी किन हाम्रो बारेमा सोधिखोजी गर्न आएको होला भनेर शंकास्पद नजरले हेर्थे,' तोफाँले जुम मिटिङमा भने।
जे होस्, उनले त्यहाँको घर, खेतीपाती, संस्कृतिबारे अध्ययन गरेर आफ्नो प्रतिवेदन बुझाए। त्यसपछि उनी 'फ्रेन्च नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च' मा आबद्ध भएर काम गर्न थाले। त्यही बेला उनका सुपरीवेक्षक काठमाडौं वरिपरिका गाउँ-सहरबारे सर्वेक्षण गर्दै थिए। उनले तोफाँलाई भने, 'के तिमी पनौतीको अध्ययन गर्न जान्छौ?'
यो खबर तोफाँले आफूमा मात्र सीमित राखेनन्। उनले पहिले प्याङ गाउँको नक्सांकन गर्न सघाएका आर्किटेक्ट साथीहरूलाई पनि पनौतीमा सँगै अध्ययन गर्न जान प्रस्ताव राखे।
उनीहरूले त्यो प्रस्ताव खुसी खुसी स्वीकार गरे।
सन् १९७६ मा तोफाँ र तीन जना फ्रान्सेली आर्किटेक्ट भिन्सेन्ट ब्यारे, प्याट्रिक बर्ज र लोरेन्स फेभिले पनौती आए। उनीहरूलाई पनौती सहरसँग परिचित गराउने काम जोन स्यान्डे नामक ब्रिटिस आर्किटेक्टले गरेका थिए जो हनुमानढोका जिर्णोद्वारको काम गर्दै थिए।
'पनौतीमा हामी श्रेष्ठ परिवारकहाँ बस्यौं। त्यहाँ उक्त परिवारले हामीलाई इन्द्रेश्वर महादेव मन्दिरनजिकैको दुई तलाको घर भाडामा दिएका थिए,' उनले भने।
उक्त अध्ययन क्रममा पनौती बस्ती कसरी बसेको छ, घरहरू कस्ता छन् लगायत वास्तुगत विवरण तीन जना आर्किटेक्टले हेरे। उनीहरूले एरिअल फोटोग्राफीमार्फत् नक्सा पनि बनाए। तोफाँ भने पनौतीको संस्कृति र जनजीवनमा केन्द्रित भए।
करिब तीन महिना बसेर अध्ययन गरेपछि तीन जना आर्किटेक्ट त फर्किए, तोफाँ भने पनौतीको संस्कृति र जनजीवन बुझ्न बेलाबेला आइरहन्थे। यो ठाउँको लामो अध्ययनपछि उनी र उनका साथीहरूले सन् १९८१ मा पनौतीबारे पहिलो किताब निकाले।
पछि तोफाँले अन्य ठाउँ र समुदायबारे अध्ययन गरेर अर्को किताब पनि लेखे– सोसाइटी अफ रिलेसन अमोङ नेवार। उक्त किताबमा धेरै विवरण पनौतीकै बारेमा थियो।
किताब प्रकाशन भएपछि फ्रेन्च दूतावासले पनौतीलाई केही बजेट दियो। यहाँका मन्दिरहरूको जिर्णोद्वारका लागि पुरातत्व विभाग र परराष्ट्र विभाग मिलेर काम गरे। सन् १९९१ देखि सन् १९९८ सम्म उनीहरूले पनौतीको इन्द्रेश्वर महादेव, ब्रह्मायणी, विश्वेश्वर लगायत मन्दिर जिर्णोद्वार गरे। साथै, यहाँका स्कुल, सडक, खानेपानी पाइपलाइन लगायत निर्माणमा सहयोग गरे।
'सबभन्दा रमाइलो कुरा त के भने, पनौतीको त्रिवेणी घाटमा पहिला धेरै माछा थिए। पुरातत्व विभागका मान्छे जब जब आउँथे, माछा किनेर लग्थे,' पुराना दिन सम्झँदै तोफाँले भने, 'हिजोआज त त्यहाँ माछा नै पाइन्न। खोला पनि पहिलेजस्तो सफा छैन।'
तोफाँ पनौतीमा पछिल्लोपटक चार–पाँच वर्षअघि आएका थिए। यहाँका मान्छेको व्यवहारले उनलाई यो ठाउँ सधैं आत्मीय लाग्छ। काठमाडौंको कोलाहलभन्दा टाढा र दुई खोलाको बीचमा बसेको यो सहरको मौसम पनि राम्रो भएको उनी बताउँछन्।
कोरोना महामारीले उनी पहिलेजसरी आउन पाएका छैनन्। तै पनि हालै उनी र पनौतीका स्थानीय एवं फोटोग्राफर प्रशान्त श्रेष्ठ मिलेर पनौतीको विगत र वर्तमान झल्काउने किताब निकालेका छन्। फोटोग्राफर श्रेष्ठलाई तोफाँले १२ वर्षअघि अघिल्लो मकर मेलामा मात्र चिनेका हुन्। उनीसँगको सहकार्यमा निकालेको यो किताब पनि फ्रान्स र पनौतीको सम्बन्ध चिनाउने अर्को मानक हो।
तोफाँका अनुसार विदेशी पर्यटकहरू पनौती हुँदै नमोबुद्ध, धुलिखेलको एकदिने पैदल यात्रा गर्छन्। यही पदयात्राका लागि पनि धेरै फ्रान्सेली पनौती आउने गरेको उनी बताउँछन्।
'पहिला त कस्तो थियो भन्दा फ्रान्सबाट कुनै ठूलो मान्छे आए भने उनीहरूलाई पनौती घुमाउन लगिन्थ्यो। यहाँका धेरै निर्माण कार्य फ्रान्सेलीले गरेकाले पनि होला, उनीहरूको यो ठाउँसँग एक किसिमको निकटता छ,' उनले भने।
फ्रान्स र नेपालको सम्बन्धकै कारण पनौतीको नाम फ्रान्सको एउटा गल्लीले पाएको छ। अब म तपाईंहरूलाई फ्रान्सको पनौतीबारे भन्छु है।
फ्रान्समा एउटा सहर छ– सेन्ट म्यामस। राजधानी पेरिसबाट ६१ किलोमिटर दूरीको यो सहर 'सेन' र 'लोइन' नदी बीचमा छ। रोशी र पुण्यमती नदीबीचको पनौती बस्तीले फ्रान्सेलीहरूलाई सेन्ट म्यामसकै झल्को दिन्छ। त्यही भएर त्यहाँको एउटा गल्लीको नाम 'पनौती' र अर्कोको नाम 'गोरखा' राखिएको छ।
फ्रान्समा पनौती बनाउने श्रेय रोबर्ट ल फललाई जान्छ। सन् १९८२ तिर पनौती आएका उनी फ्रान्सको ख्रेजी–ले–मो सहरका सांसद थिए।
'काठमाडौं सहरनजिकै सुन्दर कृषियोग्य फाँट देखेपछि मेरो मनमा कृषि औजारका सामग्री निर्माण गर्ने एउटा शिक्षालय भए उपयुक्त हुन्थ्यो जस्तो लाग्यो,' ददि सापकोटाले आफ्नो किताब 'त्यो नेपाल' का लागि लिएको अन्तर्वार्तामा रोबर्टले भनेका छन्।
यही सोच पूरा गर्न रोबर्टले आफ्नै सक्रियतामा 'फ्रँस नेपाल ब्री पनौती' नामको एसोसिएसन खडा गरे। 'ब्री' उनी सांसद भएको क्षेत्र थियो। त्यही क्षेत्रलाई उनले पनौतीसँग मित लगाइदिए।
'फ्रान्सेलीहरूले पनौती सहरमा काम गरिसकेकाले हामीले पनौती नाम पनि राख्यौं,' उनले भनेका छन्।
त्यसपछि उनीहरूले पनौतीवासीलाई पनि एउटा संस्था खडा गर्न अनुरोध गरे जसअनुसार 'पनौती ब्री नेपाल फ्राँस' नामक संस्था खडा भयो।
संस्था खुलेपछि फ्रान्सेलीहरूले पनौतीवासीको प्राथमिकतामा के-के पर्छ र कुन-कुन क्षेत्रमा परिवर्तनको खाँचो छ भन्ने बुझे। खानेपानी, अस्पताल, बाटो र गल्लीहरूको पुनर्निर्माण, मन्दिरहरूको जिर्णोद्वार र पुनर्स्थापनाजस्ता काम भए। उनीहरूले यहाँको शिक्षालाई पनि प्राथमिकता दिए।
सन् १९८३, १९८४ र १९८५ मा यी सबै कामको सट्टा एउटा कृषि र डिजेल मोटर इञ्जिन तालिम पाठशाला खोल्ने निधोे भयो। यसैअनुरूप पनौतीवासीले उक्त संस्थामार्फत् दुई जनालाई डिजेल मोटर इञ्जिन निर्माण र कृषि औजार निर्माण तालिम लिन फ्रान्स पठाइदिन प्रस्ताव राखे।
'नेपालको आइएससी सरहको यो तालिमका लागि मैले उनीहरूलाई फ्रान्सको पाठशालामा भर्ना गराएँ,' रोबर्टले भनेका छन्, 'सन् १९८८ देखि १९९२ सम्म चार वर्ष उनीहरूले हाम्रा बच्चासरह यहाँ अध्ययन गरे।'
यसको पुष्टि पनौतीका स्थानीय शिव जंगमले पनि गरेका छन्।
'प्रत्येक तीन वर्षमा नेपालका दुई जना विद्यार्थी फ्रान्सको पनौतीमा कृषि औजार निर्माण र डिजेल मोटर इञ्जिन पढ्न पुग्थे। फ्रान्सेली पनि नेपाल आउँथे। पछि संस्थामा मतभेद उत्पन्न भयो। लामो समय टिकेन। नयाँ पुस्ताले त्यति राम्रो अवसर उपभोग गर्न पाएनन्,' उनले भने।
यस्तो सुविधा दिएका उनै सांसद रोबर्टले आफ्नो निर्वाचन क्षेत्र ब्रीमा पनौतीसँगै अर्को गल्लीलाई गोरखा नामाकरण गरेका हुन्।
'म सांसद हुँदा वैदेशिक सम्बन्ध विस्तार गर्न चाहन्थेँ। मलाई लाग्थ्यो, यहाँका बस्तीले पनि अन्तर्राष्ट्रिय सम्बन्ध देखाऊन्,' उनले भनेका छन्, 'मेरो संस्थाले पनौती र गोरखामा काम गरेको सम्झना जीवित राख्न मैले ती गल्लीको नामाकरण गरेँ। यहाँ हिँड्दा मलाई नेपालका पनौती र गोरखाको सम्झना ताजा हुन्छ। यी गल्ली ती दुई ठाउँका साथीभाइ, इष्टमित्रसँगको चिनजान र मित्रताका प्रतीक पनि हुन्।'
उनले अगाडि भनेका छन्, 'पनौतीमा मैले बीसौं वर्ष लगातार काम गरेँ। त्यहाँ मेरा धेरै साथीभाइ छन्। त्यो समय यहाँ काम गरेको भए निकै पैसा कमाउँथे होला तर मैले त्यस्तो ठानिनँ। नेपाल मेरो आफ्नै भूमिजस्तै हो। नेपालका लागि जे गरेँ, तिनले मलाई सन्तोष र खुसी दिन्छन्।'
गोरखामा भने रोबर्टको समूहले एउटा प्रशासनिक भवनसहित १२ कक्षासम्म पढाइ हुने एक विद्यालय निर्माण गरेको थियो। रोबर्ट र उनकी श्रीमतीले गोरखाको उक्त विद्यालयमा पढ्ने छात्राहरूको पढाइ खर्च बेहोर्ने निधो गरे।
नेपालका ठाउँ मात्र होइन, रोबर्टले आफ्नो टोलको एउटा गल्लीको नाम 'फ्लर' भन्ने बेलायती नामबाट राखेका छन्। त्यस्तै, अर्को गल्लीको नाम 'इल द बोते' राखेका छन् जुन विदेशी मुलुकबाटै लिइएको हो। एउटा गल्लीको नाम 'दार्जिनेस्ती' छ जुन पूर्वी युरोपेली देश रोमानियाको आर्जिनेस्तीबाट आएको हो।
रोबर्ट ख्रेजी–ले–मो सहरको मेयर हुँदा त्यहाँ सात सय बासिन्दा थिए। उनका अनुसार फ्रान्सका गोरखा र पनौतीमा खेलकुद मैदान, कलेज र पसल छन्। नेपालको पनौतीमा जस्तै कृषियोग्य फाँट छ, सेन नदीको प्रभाव छ। यहाँका घर, संरचना डिजाइन र वास्तुकला भने युरोपेली शैलीको छ।
ब्री क्षेत्रका यी दुई गल्लीले गोरखा र पनौतीको माया, ममता, स्नेह, सम्झना र मित्रताको चिनो बोकेका छन्। यी गल्लीलाई फ्रान्समा रहेका नेपालीले तीर्थस्थल मान्ने गरेको लेखक सापकोटा बताउँछन्। उनका अनुसार फ्रान्समा गोरखालाई 'गोका' र पनौतीलाई 'पानोती' भनिन्छ।
नेपालको पनौती युनेस्कोको विश्व सम्पदा सूचीमा प्रस्तावित छ। पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्न राष्ट्रसंघीय नियोग युनेस्कोले २५ वर्षअघि नै प्रस्ताव गरेको थियो। अहिले यो प्रक्रिया अन्तिम चरणमा छ।
यसका लागि युनेस्कोका नेपाल प्रमुख क्रिष्टियन मनहर्टले गत वर्ष नै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गरेका थिए। उनले यहाँका मठमन्दिर तथा नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई बताएका थिए।
'विश्व सम्पदामा सूचीकृत भए पनौतीको पहिचान विश्वभर फैलिने थियो,' स्थानीय एवं फोटोग्राफर प्रशान्त श्रेष्ठ भन्छन्, 'यसले पर्यटकीय, धार्मिक, ऐतिहासिक, सांस्कृतिक सबै रूपमा पनौती संरक्षणमा टेवा पुग्थ्यो।'
सायद, फ्रान्सेलीले मन पराएको यो सहर विश्वले मन पराउँथ्यो।
पनौती कथा शृंखलाको अर्को अंकमा हामी यहाँका 'जीवित देवी' कुमारीबारे चर्चा गर्नेछौं।
(पनौती कथा शृंखलाको पाँचौं अंक बुधबार प्रकाशन हुनेछ।)