केशरमहलको पुरातात्विक महत्वका सामग्री चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।
उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। दुई जनालाई दरबारमार्गको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गणेश श्रीपाली भन्ने गणेश विश्वकर्मा, दिपेन्द्र भन्ने देवेन्द्र केसी, दाङ तुलसीपुर घर भई काठमाडौंको बसुन्धरा बस्ने १८ वर्षीय सुमन शर्मा र रूकुमपश्चिम घर भई केशरमहलमा बस्ने ३६ वर्षीय वीरबहादुर सुनार छन्।
महाशाखाका अनुसार उनीहरूमाथि केशर महलबाट बाघको टाउको, तरबार लगायतका सामान चोरी गरेको आरोप छ।
२०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त केशरमहलस्थित पुस्तकालयमा राखिएको पुरातात्विक महत्वका बाघको टाउको, केशर शमसेरको पोशाकका सेटमध्येको दुई वटा तरबार चोरी भएको हो। उनीहरू चारै जना सो भत्किएको भवनको पुनर्निर्माण गर्न त्यहाँ काम गर्दै आएका व्यक्तिहरू भएको प्रहरी उपरीक्षक पंगेनीले बताए।
‘उनीहरूले चोरी अलि अगाडि नै गरेका हुन्। १५-२० दिन अघि नै गरेका रहेछन्,’ पंगेनीले भने, ‘तर त्यहाँबाट सामान हराएको भन्ने भएपछि प्रहरीले सोधीखोजी गर्न थाल्यो। त्यसपछि उनीहरू झस्किएर फेरि राख्न ल्याएको पनि देखिन्छ। त्यो राख्न ल्याउँदा दुई जना समातिएका हुन्।’
सो घटनामा अनुसन्धान गर्दा माघ ५ गते दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-२६ केशरमहलमा बोरा राखेर फालेको अवस्थामा रातो कलेजी रङको दाप भएको ९३ सेमी र ३ सेमी चौडाइको तरबार र ९८ सेमी लम्बाई र ४ सेमी चौडाइ भएको सेतो हड्डीजस्तो बिड भएको तरबार एउटा र तीन किलोको बाघजस्तो देखिने वस्तु बरामद भएको थियो।
अनुसन्धान गर्दा गणेश, दिपेन्द्र, सुमन र वीरबहादुरको संलग्नता रहेको खुलेको हो। खोज्नेक्रममा प्रहरीले बुधबार अपराह्न ४ बजे नै केशरमहलबाट सुमन र वीरबहादुरलाई पक्राउ गरेको हो।
सुमनसँग सोधपुछ गर्दा आठ-१० दिन अघि नै गणेशले आफ्नो सामान र स्कुटर केशरमहलमा राखेको र लिएर आउन भन्दै उनलाई पठाएको प्रहरी समक्ष बयान दिएका छन्।
तर लिन जाँदा केशरमहलका गार्डले सोध्दा उनी स्कुटर र सामान त्यही कम्पाउण्डमा लगेर फरार भएको बताएका छन्।
‘त्यहाँ काम गर्न बसेका मानिसहरू हुन्। त्यहाँको पुरातात्विक महत्वका सामानहरू बेचे राम्रै मूल्यमा पाइन्छ भन्ने सोचले चोरी गरेको पाइयो,’ उनले भने,‘बाँकी थप अनुसन्धान हुँदैछ।’
महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।