सल्यान बागचौर नगरपालिकाका लेखापालमाथि बाटो ढुकेर आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेको प्रहरीले बताएको छ।
बागचौर नगरपालिकाका लेखापाल प्रदीप डाँगीमाथि आइतबार पौने ५ बजेतिर बालकन्या माध्यमिक विद्यालयनजिकै कुटपिट तथा आक्रमण भएको थियो।
कार्यालयको काम सिलसिलामा बागचौर-७ कोटबारा पुगेर फर्किने क्रममा बागचौर-२ का लेखापाल डाँगीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
बागचौर-७ का २६ वर्षीय टिकाराम वलीले बाटो ढुकेर आक्रमण तथा कुटपिट गरेको पीडित लेखापालको जाहेरीमा उल्लेख गरेका थिए।
सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काकाले आरोपित वलीलाई सोमबार पक्राउ गरिएको जानकारी दिए।
आइतबार बेलुकीपख कार्यालयको काम सकेर कोटबाराबाट थारमारेतर्फ रा१ब १००३ नम्बरको मोटरसाइलमा फर्किने क्रममा लेखापाल डाँगीमाथि वलीले आक्रमण गरिएको खड्काले बताए।
आक्रमणबाट लेखापाल डाँगीको टाउको, ढाड, हात लगाए शरिरका विभिन्न भागमा घाउ चोट लागेको खड्काले बताए।
वलीले त्यसक्रममा लेखापाल डाँगीको मोबाइल फोडीदिनुको साथै मोटरसाइकलमा समेत तोडफोड गरेको जिल्ला प्रहरी प्रमुख खड्काले बताए।
घटनाबारे लेखापाल डाँगीले इलाका प्रहरी कार्यालय थारमारेमा आइतबार बेलुका साढे ८ बजेतिर पुगेर अवगत गराएपछि प्रहरी आरोपित वलीको खोजीमा लागेको थियो।
वलीलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको डिएसपी खड्काले जानकारी दिए।
डिएसपी खड्काका अनुसार वलीले लेखापाल डाँगी तेल मागेका थिए। तर, लेखापाल डाँगीले इन्कार गरेपछि रिसाएका वलीले बाटो ढुकेर आक्रमण गरेको खुल्न आएको डिएसपी खड्काले जानकारी दिए।