ठूलोले सानोलाई खान्छ, सानोले आफूभन्दा मसिनोलाई आहारा बनाउँछ। सृष्टिको चक्र नै यही हो।
यो सृष्टिचक्रमा मानिस मात्र यस्तो प्राणी हो, जो आफ्नो सुरक्षाको खातिर आफूभन्दा कमजोरलाई ढाल बनाउँछ। आफ्नो बचाउको निम्ति अर्काको सहारा लिन्छ वा भनौं, आफ्नो ज्यान जोगाउन अर्काको ज्यान खतरामा पार्न तयार हुन्छ।
यही स्वार्थी बेहोराले नै हो सायद, मान्छे अनेक प्रतिकूलताका बाबजुद आफूभन्दा शक्तिशाली प्राणीमाथि राज गरेर बाँचेको छ।
हामी कुरा गर्दैछौं बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको, जहाँ एउटा बाघ समात्न दुईवटा पाडाको सहारा लिइँदैछ।
आफ्नो दैनिक जीवनमा अनेक अत्याधुनिक प्रविधि, हातहतियार र गुड्ने गाडीदेखि उड्ने हवाईजहाजसम्म प्रयोग गरिरहेको मान्छेलाई जंगलको एउटा बाघ समात्न यी कुनै साधन काम लागेनन्। उसले निरीह पाडाहरूलाई घन्घोर जंगलबीच छाड्नुपर्यो, ताकि त्यो बाघ आओस्, त्यसलाई खाओस् र अघाएर मस्त आराम गरिरहेका बेला कायरझैं चुपचाप उसको शिकार गर्न सकियोस्। यस्तो बेहोरा देखाउने अरू कोही जनावर सायदै होला!
हाम्रो यो कथा तिनै अभागी पाडाहरूको हो, जसलाई मान्छेले आफ्नो ज्यान जोगाउन बाघको मुखमा धकेल्दैछ।
दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनायता बाघले चार जनाको ज्यान लिइसकेको छ। अन्य केहीलाई आक्रमण गरेको हुँदा स्थानीय त्रसित छन्। यसअघि असोजमा पनि यस्तै घटना भएर बाघ नियन्त्रणमा लिने प्रयास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्जको आग्रहमा बर्दिया निकुञ्जबाट प्राविधिक झिकाइयो। ती प्राविधिकले जंगलमा पाडो राखेर बाघ पहिचान र नियन्त्रणमा लिने प्रयास गरे। तर सफल हुन सकेनन्।
त्यही प्रयास बाँके निकुञ्जले यसपालि फेरि सुरू गरेको छ।
यसको निम्ति 'नरभक्षी' बाघ लोभ्याउन डिभिजन वन कार्यालय र सम्बन्धित वडा कार्यालय मिलेर बजारबाट दुईवटा पाडा किनेर ल्याएका छन्। मान्छेले आफ्नो बूताले बाघ समात्न नसकेपछि निरीह पाडाको चारो हालिएको छ।
दुवै पाडो कम्तिमा ५० किलो वजनका छन्। बाघले ५० किलोभन्दा माथिको शिकार मात्र मन पराउने हुँदा त्यही आकारका पाडा किनिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ। यस्ता पाडाको बजार मूल्य २५ हजार रूपैयाँ हाराहारी पर्छ।
सबभन्दा पहिला गत मंगलबार रातभरि राप्ती सोनारी गाउँपालिका-६ मा पर्ने सिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा एउटा पाडो राखियो। तर त्यो रात बाघ आएन। पाडोको ज्यान बच्यो।
बुधबार सोही वन क्षेत्रका दुई फरक-फरक स्थानमा दुइटै पाडा राखिए। भोलिपल्ट दुवै सकुशल फेला परे। अभागी पाडाहरू दोस्रो दिन पनि भाग्यमानी ठहरिए, बाघबाट बालबाल बाँचे।
ती पाडालाई यसैगरी घना जंगलमा छाडिँदै आएको छ। आजसम्म बालबाल बाँचिरहेका छन्। भाग्यले कति दिन साथ दिने हो थाहा छैन। जुन दिन मान्छेको भाग्य बलियो र पाडाहरूको कमजोर हुनेछ, त्यस दिन बल्ल यो 'बाघचाल' समाप्त होला।
वन अधिकृतहरूका अनुसार बाघले जब पाडो खान्छ, तब ऊ अघाएर आसपासै कतै आराम गर्न जान्छ। टन्न पेट अघाएका बेला बाघ धेरै टाढा हिँडडुल गर्न सक्दैन। ऊ त्यही पाडा राखिएको ठाउँ वरिपरि नै कतै हलनचल आराम गरिरहेको हुन्छ। त्यही बेला बाघको खोजी गरिन्छ र पहिचान भइसकेपछि सार्पसुटरले रूखको छेल परेर लुकिछिपी बाघको शिकार गर्छ।
बाघको शिकारमा प्रयोग गरिएका यी पाडा जंगलमा बस्न अभ्यस्त छैनन्। यिनीहरू बजारबाट किनेर ल्याइएका घरपालुवा हुन्। त्यसैले रातको अन्धकारमा जंगलमा दुक्लै बाँधेर राखिँदा रातभर कराउने गरेको यो अभियानमा संलग्न एक अधिकारीले बताए।
बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साह बाघ समात्न पाडोलाई चारोका रूपमा प्रयोग गर्नु नैतिक रूपले उचित नभए पनि अर्को विकल्प नभएको बताउँछन्।
'जंगली जनावर समात्न जंगली जनावरकै प्रयोग गरिएको भए ठिकै थियो,' उनले भने, 'तर घरपालुवा जनावर त्यसरी जंगलमा बाँध्नुलाई त्यति जायज हो भन्न मिल्दैन।'
उनका अनुसार अफ्रिकी मुलुकहरूमा बाघ समात्ने विधि अर्कै छ। त्यहाँ बाघ समात्न जंगलमाथि हेलिकप्टर वा ड्रोन उडाइन्छ। तिनै हेलिकप्टर वा ड्रोनबाट बाघ वा शिकार गर्नुपर्ने अन्य जंगली जनावर कहाँ लुकेको छ भन्ने पहिचान गरिन्छ। यसै आधारमा आकाशबाट बेहोस गर्ने गोली चलाइन्छ र त्यसपछि जाल हालेर जनावरलाई नियन्त्रणमा लिइन्छ।
नेपालमा भने जंगलको बनावटका कारण माथिबाट हेलिकप्टर वा ड्रोन उडाएर तल भुइँमा बाघ पहिचान गर्न सम्भव नभएको संरक्षण अधिकृत साहले बताए।
'हाम्रो वनजंगलको बनोट नै भिन्नै छ। रूखहरू अग्लाअग्ला र झ्यांगिने खालको भएकाले माथिबाट हेरेर भुइँ अनुगमन गर्न सकिँदैन,' उनले भने, 'मिल्ने भइदिएको भए हामी पनि हेलिकप्टर उडाएर सजिलै बाघ पहिचान गर्न सक्थ्यौं।'
यसबाहेक बाघले आफ्नो शिकार झम्टिन आएकै बेला बेहोस पार्ने गोली चलाएर पनि नियन्त्रणमा लिन सकिन्छ। यसको निम्ति बाघ कहिले आउला भनेर चौबीसै घन्टा कुरेर बस्नुपर्छ। यसो गर्नु मान्छेको निम्ति खतरनाक हुन सक्छ। त्यसैले, दुइटा पाडोलाई बाघको आहारा निम्ति जंगलमै बाँधेर राख्नुको विकल्प नभएको साहको भनाइ छ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का पनि बाघको आहाराका लागि रातभर जंगलमा पाँडो बाधेर राख्नु प्रकृतिको नियमविपरीत भएको बताउँछन्।
'जंगलमै हुर्केको अर्ना हुन्थ्यो भने जायज हुँदो हो। त्यसलाई पनि नबाँधेर खुला राख्नुपर्छ,' उनले भने, 'यहाँ त घरमा पालिएका अबोध पाडाहरूलाई घनघोर जंगलमा रातभर एक्लै बाँधिएको छ। यसलाई कसरी जायज मान्नु?'
यति मात्र होइन, बाघले हमला गर्नेबित्तिकै तत्कालै नियन्त्रणमा लिएको भए पनि जायज मान्न सकिने उनको भनाइ छ।
पछिल्लो समय दुई दिनको अन्तरमा बाघले दुई जना महिलाको ज्यान लिए पनि खान पाएको थिएन। उनीहरूसँगै रहेका मानिसले खबर गरेपछि गाउँले र सुरक्षाकर्मीहरूले होहल्ला गर्दै बाघको पञ्जाबाट ती महिलाको शव छुटाएर ल्याउन सफल भएका थिए।
'त्यतिखेरै बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन सकेको भए हुन्थ्यो,' खड्काले भने, 'तर मान्छे मारेको एक-डेढ सातापछि पाडाको चारो राखेर बाघ नियन्त्रणमा लिन खोज्नु त्यति वैज्ञानिक विधि हो जस्तो लाग्दैन।'
उनले अगाडि भने, 'बाघ एकैठाउँ बसिरहन्न। नियन्त्रणमा लिइए पनि त्यही मान्छे खाने बाघ हो कि होइन छुट्टयाउने आधार के?'
पशु अधिकारकर्मीहरूले पनि यो घटनाको विरोध गरिरहेका छन्। विरोधकै कारण ती पाडा फिर्ता गर्नुपर्ने अवस्था आउन सक्ने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले बताए।
'अब यी पाडालाई फिर्ता गर्ने हो कि भन्नेबारे सामान्य छलफल हुन थालेको छ,' खड्काले भने, 'सायद अब एक-दुई दिनभन्दा बढी प्रयोग नहुन सक्छ।'
एक-दुई दिनसम्म पाडा बाँचे भने उनीहरूको 'तक्दिर बलियो मान्न सकिने' उनी बताउँछन्।
बाघको खोजीमा दैनिक ठूलो जनशक्ति परिचालन हुँदै आएको छ। प्राविधिक टोलीसहित दुईवटा हात्तीका साथमा सेना, प्रहरी र वनका कर्मचारीको लावालस्कर जंगलमा घुम्दैछ। दैनिक ३० देखि ४० जनाको टोली खटिएको छ। गाडी जान सक्ने ठाउँमा गाडी परिचालन गरिएको छ भने गाडी जान नसक्ने ठाउँमा हात्ती प्रयोग गरिएको छ।
वन कार्यालय बाँकेका सूचना अधिकारी खड्काका अनुसार प्राविधिक टोलीसँग चार-पाँचवटा स्काइप क्यामरा छन्। त्यो क्यामराले निरन्तर फोटो खिचेर पठाउँछ र त्यसैका आधारमा टोली जंगलमा घुम्छ। कहिले राति त कहिले एकाबिहानै कुद्नुपर्ने उनी बताउँछन्।
यति हुँदाहुँदै छ दिनदेखि लगातार खोज्दा पनि बाघ फेला नपरेकाले अब त्यसलाई समात्न सजिलो नभएको उनको भनाइ छ। हात्ती र गाडीले जंगलमा एकोहोरो होहल्ला गर्दा बाघ अन्यत्र गइसकेको हुनसक्ने अनुमान छ।
यसबाहेक राप्ती सोनारी गाउँपालिकाको भुवर भवानीमा अहिले ठूलो मेला लागेको छ। मेलामा हल्लाखल्ला हुन्छ। ठूलो संख्यामा मानिसको ओहोरदोहोर पनि भइरहेको छ। यसले पनि बाघ अन्यत्र गइसकेको हुनसक्ने सम्भावना छ।
निकुञ्जका संरक्षण अधिकृत साह पनि बाघ ठाउँ छाडेर गइसकेको हुनसक्ने अनुमान गर्छन्।
उनका अनुसार बाघको शिकार मान्छे हुँदै होइन। पछिल्ला घटना संयोगवश जम्काभेट हुँदा भएका हुन्। जसरी मान्छे बाघसँग डराउँछ, त्यसैगरी बाघ पनि मान्छेसँग डराउँछ। लगातार जंगलमा मान्छेको आवागमन र होहल्ला सुनेर ऊ डरले लाखापाखा लागिसकेको हुनसक्ने साहको अड्कल छ।
बाँकेको नरैनापुरसँगै भारतको साहेलौवा राष्ट्रिय निकुञ्ज छ। आसपास बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पनि छ। त्यो बाघ जहाँबाट पनि मध्यवर्ती क्षेत्र आइपुगेको हुनसक्छ। संरक्षण अधिकृत साह भने बाँके र बर्दिया निकुञ्जमा बाघको संख्या उल्लेखनीय वृद्धि भएकाले यो बाँकेकै भएको बताउँछन्।
डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्का पनि सहमत छन्। हरेक दृष्टिले नियाल्दा यो बाघ बाँकेकै निकुञ्जमा जन्मिएर हुर्किएको हो भन्ने बलिया आधार भएको उनको भनाइ छ।
यसबीच बाघको आक्रमणबाट मृत्यु भएका दुई परिवारलाई ५०-५० हजार रूपैयाँका दरले क्षतिपूर्ति दिइएको छ। डिभिजन वन कार्यालय बाँके र वन तथा वातावरण संरक्षण समन्वय समिति बाँकेले उक्त राहत रकम दिएका हुन्।
बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका-४, पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको पुस २२ गते र वडा नम्बर ६ फत्तेपुरकी ३२ वर्षीया चाँदनी थारूको पुस २४ गते ज्यान गएको थियो। उनीहरू जंगलमा घाँसदाउरा काट्न गएका थिए।
बाघले ज्यान लिएका मान्छेले त क्षतिपूर्ति पाए। अब केही दिनसम्म ती दुई पाडाको भाग्य बलियो रहेन भने उनीहरूले पनि ज्यान गुमाउनुपर्नेछ। मान्छेको सुरक्षा निम्ति ज्यान गुमाए पनि ती पाडालाई हामी कसैले धन्यवादसम्म भन्ने छैनौं।