बाँकेमा आतंक सृजना गरेको नरभक्षी बाघको नियन्त्रणको लागि पाडो जंगलमा राख्न थालिएको छ।
मंगलबार रातभर राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अन्तर्गतको शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा एउटा पाडो राखिएको भए पनि बाघ नआएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले सेतोपाटीलाई बताए।
‘बाघ लोभ्याउन चारोको रूपमा रातभर एउटा पाडो शिद्धेश्वरी सामुदायिक वन क्षेत्रको केहीभित्र राखिएको थियो’, खड्काले भने, ‘तर, बिहान गएर हेर्दा पाडो सकुशल फेला पर्यो।’
सूचना अधिकारी खड्काले बुधबार सोही वन क्षेत्रका दुई फरक-फरक स्थानमा दुइटा पाडा राख्न लागिएको जानकारी दिए।
बाघले पाडो खाएपछि अघाएर आसपासमै आराम गर्ने हुँदा त्यसको खोजी गर्न सहज हुने उनले बताए।
‘बाघले आहारा खाएपछि धेरै टाढा जाँदैन,’ उनले भने, ‘जसले गर्दा बाघको खोजी र पहिचान गर्न सहज हुन्छ।’
त्यसरी पहिचान भइसकेपछि सार्पसुटरले रूखमा लुकेर बसी सुट गर्ने योजना बनाइएको सूचना अधिकारीले खड्काले जानकारी दिए।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका सामुदायिक वनमा घाँस, दाउरा लिन गएका दुई महिलाको दुई दिनको अन्तरमा बाघले ज्यान लिएपछि नियन्त्रणको प्रयास स्वरूप चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली बाँके पुगेको हो।
सोमबार पुगेको प्राविधिक टोलीमा भेटनरी डाक्टर, सार्प सुटरसहितको टोली जंगलमा खटिँदै आएको छ।
नरभक्षी बाघको खोजी र पहिचानका लागि दुइटा हात्तीसहित नेपाली सेना, वनका कर्मचारी, राष्ट्रिय निकुञ्जका कर्मचारी खटिँदै आएका छन्।
दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनाको अवधिमा बाघले चार जनाको ज्यान लिइसकेको छ। अन्य केहीलाई आक्रमण समेत गरेको हुँदा स्थानीय त्रसित बनेका छन्।
यससघि असोजमा बाघलाई नियन्त्रणमा लिने प्रयास भएको थियो। बाँके राष्ट्रिय निकुञ्जको आग्रहमा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक झिकाएर जंगलमा पाडो राखेर नरभक्षी बाघको पहिचान र नियन्त्रणमा लिने प्रयास सफल हुन सकेको थिएन।