पत्रकार केपी ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ। शनिबार अनलाइन पत्रकार संघको ११औं साधारणसभामा ढुंगानालाई पुरस्कार प्रदान गरिएको हो।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुरस्कार प्रदान गरे।
इञ्जिनियर विनोद ढकालले पाँच लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलोपटक ढुंगानालाई प्रदान गरिएको हो। पुरस्कारको राशी ५० हजार रहेको छ।
अक्षयकोषबाट आएको रकमबाट संघले अब हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्यालले बताए।
पत्रकार कुवेर चालिसेको सञ्योजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको थियो।
कार्यक्रममा पत्रकार चालिसेले पहिलोपटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरेको बताएका थिए। यस्तै, उनले आगामी वर्षदेखि संघका सदस्यहरूलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने बताए।
ढुंगाना डेढ दशकदेखि पत्रकारितामा संलग्न छन्। कान्तिपुर, नागरिक, नयाँ पत्रिका, राजधानी दैनिक, पहिलोपोस्ट डटकम, शुक्रबार साप्ताहिक र नेपाललाइभ डटकममा काम गरेका ढुंगाना अहिले उकेरा डटकमको प्रधान सम्पादक छन्। उनी अन्तरदेशीय अपराध सम्बन्धी पुस्तक ‘ओपन सेक्रेट’का लेखक हुन्।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यम अब मुलधारको पत्रकारिता बनिसकेको भन्दै यसमा कुनै समस्या भए सरकार सहजीकरण गर्न तयार रहेको बताएका थिए।
उनले अन्य सन्चारमाध्यमझैं अनलाइन सञ्चारमाध्यमलाई समेत समानुपातिक विज्ञापन उपलब्ध गराउन कार्यविधि बनिरहेको भन्दै उनले वर्तमान सरकार प्रेस स्वतन्त्रतामा अवरोध हुने कुनै गतिविधिबारे सोच्न समेत नसक्ने बताएका थिए।
११ औं अधिवेशनले शनिबार डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ।
समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी, कोषाध्यक्ष निर्दोष घोरसाइने र सदस्यहरूमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेल छन्।