घोराही कारागारका जेलर युवराज परियार रिहा भएका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर परियार शुक्रबार नै अदालतको आदेशले रिहा भएको सेतोपाटीलाई बताए।
पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै छन्। ‘म त हिजो फिल्डमा थिएँ, अदालतले छोड्न आदेश दिएछ,’ प्रजिअ रेग्मीले भने, ‘त्यही त होला सायद प्रमाण नपुगेरै छोड्न आदेश भयो होला।’
त्यस्तै, घोराही कारगारको समेत जिम्मेवारी प्रदान गरिएका तुलसीपुर कारागारका जेलर अमर वलीले भने जिम्मा जमानीमा छुटेको सेतोपाटीलाई बताए। ‘उहाँलाई खोजेको बेलामा उपस्थित हुने गरी छोड्न आदेश भएको हो,’ वलीले भने, ‘अझै अनुसन्धान भइरहेको छ।’
फरार नाइके यमराज परियार र जेलर युवराजका बीचमा दाजुभाइको जस्तै सम्बन्ध रहेको तथा त्यही भएर कारागारभित्रै पनि यमराजलाई दिनै नमिल्ने सेवा सुविधा, अधिकार दिएको आरोप बाहिरएको थियो।
पुस ८ गते कारागारका नाइके यमराज परियार प्रहरीकै मोटरसाइकल लगेर भागेपछि घटना अनुसन्धानका लागि भन्दै जेलर परियार पुस १२ गते सात जना पक्राउ परेका थिए।
कर्तव्य ज्यानमुद्दामा साढे सात वर्ष कैद भुक्तान गरेका कारागारका नाइके परियारलाई जिल्ला अदालतबाट २० वर्ष सजाए तोकिएको छ।
फरार नाइके परियारको खोजी कार्यका लागि केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि खटिएको स्रोतले जानकारी दिएको छ।
नाइके यमराजलाई भगाउन तीन जना प्रहरीको समेत मिलेमतो रहेको पाइएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न प्रहरीका बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा एउटा छानबिन समिति पनि गठन गरेको छ।