सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी पक्राउ परेका छन्।
बैंकमा हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ प्रकरणमा अनुसन्धानका लागि उनलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो।
बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन्।
धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ। त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो।
यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सिइओ लगायतका उच्च अधिकारीहरू शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
‘घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ,’, मोरङ प्रहरी उपरीक्षक जनार्दन जिसीले भने।
बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ।
बबिता सिइओ नविन सुवेदीका नातेदार हु्न्। उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगष्ट २ तारिख सम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको छ।
बबिताको नाममा फर्जी खाता सिइओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ। रेमिट शाखाका प्रमुख भट्टराई पनि सिइओ सुवेदीका नातेदार हुन्। भट्टराई उनका फुपूका छोरा हुन्।
हिनामिना भएको रकममध्ये धेरै बबिताको खातामा र हिमाल भट्टराईको विभिन्न पाँच वटा बैंकको खातामा एक करोड रुपैयाँ जम्मा भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ। यसैगरी सिइओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल जेठी सासु बानी पोखरेल लगायतको खातामा रकम पठाएको दाबी उजुरीमा गरिएको छ।
‘उक्त खाता पनि अरू नै व्यक्तिबाट संचालन गरी कारोबार भएकोले सूक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ,’ उजुरीमा भनिएको छ।
पछिल्लो ६ वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको यति ठूलो रकम हिनामिना भएको हो।
यही प्रकरणमा बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट ९ जिएसडी प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर यसबारे अनुसन्धान गरिरहेको छ।
प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ।
साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक भएको हो।
यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो। बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बरालले बताउँदै आएका छन्।
यी पनि:
सप्तकोशी बैंकमा १५ करोड ७० लाख हिनामिना: हराएको पैसा सिइओका आफन्तको बैंक खातामा
विराटनगरको सप्तकोशी बैंकमा करोडौं रकम हिनामिना