जिल्ला कारागार घोराहीका जेलर युवराज परियारविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
कारागारका नाइके यमराज परियार भागेपछि जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा तानिएका जेलर परियारलाई जिल्ला अदालत दाङले सोमबार पक्राउ पुर्जी जारी गरेको हो।
जेलर परियारकोसमेत उक्त घटनामा मिलेमतोको आशंकापछि उनलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै परियारविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
जेलर परियार आफू बिदामा रहेकै बेला नाइके परियारलाई उपचारका लागि लैजान अनुमति दिएका थिए।
बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए। त्यसपछि एउटा रेष्टुराँमा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर फरार भएका थिए।
राजपुर गाउँपालिका बेलका यमराज परियार कतर्व्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका थिए।
घोराही कारागारका नाइके परियार भागेपछि उनलाई उपचाका लागि मोटरसाइकलमा अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित घटनामा संलग्न दुई युवतीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल शुक्रबार लमही बजारदेखि केही माथिको जंगलमा फेला परेको थियो।
यसअघि परियारलाई जिल्ला प्रशासनमा तानेर उनको स्थानमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई पठाइएको थियो।
यो पनि हेर्नुहोस्