धनकुटामा मुख्य कार्यालय स्थापना गरेर प्रदेश १ मा कारोबार गर्दै आएको सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोडभन्दा बढी रकम हिनामिना भएको घटना बाहिरिएको छ।
विराटनगरको मेनरोडस्थित कर्पोरेट कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोडभन्दा बढी रकम अपचलन भएको बैंक स्रोतले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत पाएको बैंकको रेमिट्यान्सतर्फको सो रकम हिनामिना भएको अभियोगमा एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ।
मंसिर पहिलो साता रेमिट्यान्सतर्फको ठूलो रकमको हिसाब नमिलेपछि बैंकले मोरङ प्रहरीमा अनुसन्धानको लागि जाहेरी दिएको थियो।
बैंकले कति रकम हिसाब नमिलेको उल्लेख नगरे पनि १५ देखि १६ करोड बराबरको बैंकको रेमिट्यान्सतर्फको रकम अपचलन भएको प्रहरी स्रोतको भनाइ छ।
अहिले मोरङ प्रहरीबाहेक सिआइबी, नेपाल राष्ट्र बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले पनि आन्तरिक रूपमा यो घटनाको गरिरहेका छन्।
बैंकले दिएको जाहेरीको आधारमा मोरङ प्रहरीले सप्तकोशी बैंक विराटनगर कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराईलाई १९ मंसिरमा नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका भट्टराई ६ वर्षदेखि उक्त बैंकमा कार्यरत छन्।
उनले बैंकमा २०७१ सालदेखि रेमिट्यान्सतर्फ जिएसडी प्रमुखको जिम्मेवारीमा थिए।
बैंकभित्रको ठूलो रकम हिनामिना भएकोले यस घटनामा जिएसडी प्रमुख भट्टराईको मात्र एकल संलग्नता हुन नसक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।
‘बैंकको ठूलो रकम घोटालामा एक जनाको मात्र संलग्न मात्र हुन नसक्ने भएकोले हामीले सबै कोणदेखि अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने।
पक्राउ परेका भट्टराई बैंकका सिइओ रहेका नविन सुवेदीका फुपुका छोरा हुन्।
धनकुटामा केन्द्रीय कार्यालय रहेको बैंकको प्रदेश १ मा ३६ वटा शाखा कार्यालय छन्। बैंकमा चार अर्ब ३० करोड निक्षेप रहेको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकले बैंकको नाफा रहेको रकम हिनाहिना भएकोले निक्षेपकर्ता र लगानीकर्तालाई ढुक्क हुन भनेको छ।
निक्षेपकर्ता र लगानी कर्ताको रकम सुरक्षित भएको बैंकका अध्यक्ष डा. अर्जुन बरालले बताएका छन्।
उनले बैंकको केही रकम हिनामिना भएकोले निक्षेपकर्ताको रकम हिनामिना नभएको बताएका हुन्।