घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु प्रकरण अनुसन्धान गर्न जिल्ला अदालतले होटल सञ्चालकसहित ११ जनाविरूद्ध थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ।
शुक्रबार अदालतबाट पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।
बुधबार बेलुका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन भन्दै पौडेल घोराही १५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा पुगेका थिए।
उनीहरूले पौडेल होटलको दोस्रो तलबाट खस्न पुगेको बयान दिएका छन्।
पार्टीमा मदिरा सेवनपछि पौडेल सन्तुलन गुमाएर छतबाट भुइँमा खसेर बेहोस भएको प्रहरी नियन्त्रणमा रहेकाहरूले बताउँदै आएका छन्।
छतबाट लडेर बेहोस भएका पौडेललाई राति नै बाथरूममा लगेर नुहाइ दिएर सुताएको र पछि उनले वान्ता गरेपछि पनि मदिरा लागेर होला भन ठानेर घर परिवारलाई खबर नगरको कुरा उनका साथीहरूले गरेका छन्।
अचेत अवस्थामा रहेका पौडेलको होस बिहीबार बिहानसम्म पनि नखुलेपछि मात्रै उनलाई उपचारका लागि बुटवल पुर्याइएको थियो।
दिउँसो २ बजे बुटवल लगिएका पौडेललाई चिकित्सकले बेलुकी ८ बजे मृत घोषणा गरेका थिए।
‘छतबाट लडेर बहोस भएको व्यक्तिलाई अस्पताल पुर्याउन छोडेर नुहाइदिने र सुताउनुले गर्दा उपचार नपाएर मृत्यु भएको हुनसक्छ,’ एसपी काफ्लेले भने ‘ घटना भइसकेपछि घर परिवार वा प्रहरीलाई खबर नगरी घटना लुकाउन खोज्नुले आशंका गर्ने ठाउँ छन्।’
पोस्टमार्टम रिपोर्ट आइनसकेको र प्रहरी नियन्त्रणमा रहेकामाथि पनि आवश्यक अनुसन्धान जारी रहेको हुँदा तथ्य कुरा अनुसन्धान पूरा भएपछि मात्रै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।