दसैं-तिहारको बीचमा धेरै नेपाली घुम्न जान्छन्। कोही साथीभाइसँग त कोही परिवारसँग। उनीहरू हिमालदेखि तराईका विभिन्न पर्यटकीय स्थानसम्म पुग्छन्। आफू घुम्न गएका ठाउँका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्छन्।
दसैं-तिहार सकिएपछि अहिले नेपालमा रहेका तीन देशका राजदूत घुम्न निस्किएका छन्। अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत हुल बाँधेर मुगुस्थित रारा ताल पुगेका छन्।
दुई महिनाअघि अमेरिका, बेलायत र अष्ट्रेलियाका नेताहरूले तीन देशबीच 'अउकस' (अस्ट्रेलिया, बेलायत र अमेरिकाको छोटो रूप) नामक सैन्य सम्झौता घोषणा गरेका थिए। अउकस सम्झौता विशेषगरी चीनविरूद्ध लक्षित छ।
आफ्ना देशहरूले नयाँ गठबन्धन बनाएको केही सातापछि नेपालस्थित ती देशका राजदूत घुम्न पनि सँगसँगै निस्किएका हुन्!
तीन दिनदेखि उतै रहेका उनीहरूले आफ्नो घुमाइका तस्बिर र भिडिओ छिनछिनमा अपडेट गरिरहेका छन्। प्राय: कूटनीतिक गतिविधिमा व्यस्त हुने राजदूत घुम्न गएको कुराले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
राजदूतत्रयमा रारा यात्राबारे यति धेरै उत्साह थियो, अमेरिकी राजदूत र्यान्डी बेरीले रारा जान छलफल गरेको तस्बिर पनि सामाजिक सञ्जालमा पोष्टिएका थिए।
काठमाडौंबाट नेपालगन्ज हुँदै राजदूत बेरी र अष्ट्रिलियाकी राजदूत फेलिसिटी भल्क कात्तिक २८ गते गमगढी पुगेका थिए। उनीहरू रारा पुगुन्जेल पनि बेलायती राजदूत निकोला पोलिट आइपुगेकी थिइनन्। राजदूत बरीले रारा तालबाट आफू पोलिटलाई कुरिरहेको भन्दै तस्बिर राखेका थिए।
अर्को दिन भने यी तिनै राजदूत रारामा सँगै रमाएका थिए। राजदूतहरूले आफ्नो रारा भ्रमणका क्रममा जलवायु परिवर्तन विषयलाई पनि समेटेका छन्।
‘म र मेरा साथीहरू यो यात्राका क्रममा फोहोर र प्लास्टिकको प्रयोग कम गर्न प्रतिवद्ध छौं। थोरै फोहोर उत्पादन गरे पुर्नु वा जलाउनु पर्ने फोहोर पनि कम हुन्छ। हाम्रा देशहरूले जलवायु परिवर्तनको असर कम गर्न नेपालसँग गरेको साझेदारीप्रति हामीलाई गर्व छ,’ राजदूत बेरीले एउटा ट्वीटमा लेखेका छन्।
उनको अर्को ट्वीटमा नेपाल प्राकृतिक सम्पदाले सम्पन्न रहेको र कोप-२६ मा पेश गरेका महत्वाकांक्षी प्रतिवद्धताले नेपालले प्रकृतिमा आधारित समाधानमार्फत् नेतृत्वदायी भूमिका खेल्न सक्ने देखाउने उल्लेख छ।
अष्ट्रेलियाकी राजदूत भल्कले रारादेखि मुर्मा टपसम्म ट्रेक गएका तस्बिरहरू सार्वजनिक गरेकी छन्। जलवायु परिवर्तनका असरबारे स्थानीयहरूसँग कुराकानी गरेको र रारामा रहेको नेपाली सेनाको गणलाई सोलार प्यानल अनुदानमा दिएको उनले जानकारी दिएकी छन्।
रारा ताललाई पृष्ठभूमिमा राखेर खिचिएको भिडिओमा उनले नेपालको बनजंगल संरक्षणमा अष्ट्रेलियाले गर्दै आएको सहयोग जारी रहेन उल्लेख गरेकी छन्।
बेलायती राजदूत पोलिटले मुगुका तस्बिरहरू सार्वजनिक गर्दै स्थानीय महिलाले खानेपानीको अभाव भएको, जंगलमा आगलागी भएको र शिक्षकको अभाव भएको अनुभव सुनाएको बताएकी छन्।
रारामा तीन राजदूतहरू नेपाली सेनाको अतिथि गृहमा बसेका छन्।
मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार राजदूतको टोली बुधबार मुगुबाट फर्किने कार्यक्रम छ।
मंगलबार उनीहरूले जलवायु परिवर्तनको असरका सम्बन्धमा मुगुका केही स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीयबासीसँग छलफल गरेका छन्।
‘गमगढी बजारमा हिजो राति आगो लागेका कारण म त आज जान पाइनँ,’ महतले भने।
महतका अनुसार पछिल्लो समय रारामा नेपाली पर्यटकको चहल-पहल बढ्दो छ। विदेशी भने आएका छैनन्।
एक महिनाअघि दक्षिण कोरियाका राजदूत पार्क छोङ सुक रारा पुगेका थिए। कोरियाली अनुदानमा बनेको अस्पताल हस्तान्तरण गर्न गएका सुक त्यही मौकामा रारा पुगेका हुन्।
तीन राजदूतको भ्रमण र सामाजिक सञ्जालमा उनीहरूले गरेको प्रचारले कोरोनाभाइरसले थलिएको राराको पर्यटन प्रर्वद्धनलाई थोरै भए पनि टेवा पुर्याउन पर्यटन व्यवसायीको अपेक्षा छ।