चेक बाउन्स मुद्दामा एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।
भारतको मोतीहारी घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १ कमलपोखरी बस्ने ४५ वर्षीय राजहरण साहलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई ब्युरोको प्रहरीले सोमबार कमलपोखरीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।
उनी ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटोस्थित जय बाबा गणिनाथ महाराज सप्लायर्सका प्रमुख पनि हुन्।
साहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याएर २०७५ पुस ५ गते ग्लोबल आइएमई बैंकको चेक काटेर दिएका थिए।
त्यसरी चेक काटेर बाउन्स भएपछि जाहेरवालाले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले गत माघ २६ गते साहलाई कैद र जरिवानाको फैसला सुनाएको थियो।
साहलाई सात दिन कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
फैसलापछि फरार रहेका उनलाई ब्युरोले पक्राउ गरेको हो। फैसला कार्यान्वयनको लागि उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जनाएको छ।