सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ। आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र सो पर्व मनाइँदै आइएको छ। गत वर्ष कोरोनाले प्रभाव परे पनि यस वर्ष भने सो समुदायले धुमधामका साथ मनाएका हुन्।
परापूर्वकालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा देश विदेशमा रहेको वालुङ समुदायका आफ्ना आफन्त फुटुक पर्व मनाउन ओलाङचुङ गोलामा पुगेको थियो। पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिस जम्मा भएको थियो।
पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेको थियो। पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ। आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले जानकारी दिए।
यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ। समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य प्रदर्शन गर्दछन्। यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गर्छ। लामाको नृत्य हेर्न साथै आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बसेको शेर्पाले बताए। गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष पनि नरोकिएको स्थानीयको भनाइ छ।
फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ। पर्वका समयमा सीमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउने गरेको छ। ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको छ। निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाइँदै आएको स्थानीयको भनाइ रहेको छ।
चीन र नेपालको सीमानाका नजिकै रहेको ओलाङ्चुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस बस्तीमा वालुङ समुदाको ५२ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा १० घरपरिवार छन् । ओलाङचुङगोला तीन हजार २०० मिटर उचाइमा पर्दछ भने २४ किलोमिटरमा नेपाल र चीनको नाका टिप्ताला नाका पर्दछ। रासस