झापामा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।
बिर्तामोड ६ स्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी र मोटरसाइकल ठक्कर खाँदा शनिबार साँझ एक जनाको मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको रातो रङको पल्सर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटीसँग ठक्कर खाएको थियो।
दुर्घटनामा स्कुटी चालक मेचीनगर १० बस्ने ४२ वर्षीय डिल्ली कार्की, उनका छोरा १६ वर्षीय मनिष कार्की र अर्का मोटरसाइकलको पछाडि सवार हल्दिबारी ४ का २१ वर्षीय पिजेश लामा घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये स्कुटीको पछाडि सवार मनिष कार्कीको उपचारका क्रममा बिएण्डसी अस्पतालमा राति ९ बजे मृत्यु भएको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए।
घाइते अन्य दुई जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न हल्दिबारी ४ बस्ने २५ वर्षीय नरेश तामाङ फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।