भक्तपुरको मध्यपुर थिमी क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘गन्तब्य मध्यपुर थिमी’ सार्वजनिक भएको छ।
मध्यपुर थिमी नगरपालिकाले प्रकाशन र पत्रकार भरतबन्धु थापाले तयार पारेको पुस्तक दुईपोखरीमा बिहिबार एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री एवं नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरे।
थापाले मध्यपुर थिमि नगरपालिका भित्रका सांस्कृतिक, धार्मिक एवं जीवनशैलीबारे १० महिना लगाएर अध्ययन गरि तस्बिर पुस्तक तयार पारेका हुन्।
पुस्तकको विोचनपछि बोल्दै एमाले अध्यक्ष ओलीले मध्यपुर कला र संस्कृतिको धनी भएको बताए। उनले नगरपालिका भित्रका प्राचीन सांस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थल, कला र परम्परा झल्काउने तस्बिर समावेश यो संग्रहले मध्यपुर थिमिको पर्यटन, प्रवर्धन र विकासमा सहयोग पुर्याउने दाबी गरे।
‘हाम्रो ऐतिहासिकता, हाम्रा सांस्कृतिक विविधता, हाम्रो सवल सभ्यता, हाम्रो सिर्जनात्मक प्राचीन कलाका विविध आयामलाई यसले जीवन्त रुपमा प्रस्तुत गर्नेछ’, ओलीले भने, ‘मौलिक र गौरवपूर्ण परम्पराको रक्षा गरी नगरलाई आधुनिक, सम्पन्न र विकशित बनाउने र नगरवासीको जीवनमा खुसी हासिल गर्ने उद्धेश्यमा यस प्रकाशनले सहयोग पुर्याउने विश्वास लिएको छु।’
कार्यक्रममा बोल्दै मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले नगर क्षेत्रमा लोप हुन लागेका धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदालाई उजागर गरि पुस्तकको रूपमा तयार पारिएको भन्दै यसबाट देश विदेशमा जानकारी हुनुका साथै आन्तरिक र बाह्य पर्यटनको विकासमा टेवा पुग्ने आशा गरे।
मध्यपुरमा पर्यटनको विकास गर्दै सम्पदाको संरक्षण सम्बर्धन एवं प्रवर्द्धन गरि बहुआयामिक रोजागारी सिर्जनाबाट समृद्ध नगर निर्माणमा लागिपर्ने उनले बताए।
उनले कार्यक्रममा नगरभित्र मूर्तिकलाको संरक्षणका क्रममा लोप हुन लागेका, जीर्ण रहेका र भुकम्पले क्षति पुगेका २३ वटा मन्दिर, ३७ वटा फल्चा, २५ वटा ढुंगेधारा, २० वटा ईनार, १५ वटा पोखरी, ५ वटा विहार, ३ वटा लायकू दरबार पुनर्निर्माण गरिसकेको जानकारी दिए।
‘अहिले ४५ वर्षपछि परम्परागत लायकू भैलः २३ वर्षपछि महाकाली नाच, १७ वर्षपछि सलाचा प्याखँ, १३ वर्षपछि म्हे्खः प्याखँ नाच, भैतिमैली प्याखँ (राजकुमार नाच) लगायतले निरन्तरता पाएका छन्। परम्परागत बाजागाजा, भजनलाई यथेष्ट सहयोग गरी अमूर्त कलाहरुको संरक्षण गरिएको छ’, उनले भने।
कार्यक्रममा लेखक भरतबन्धु थापाले पुस्तक तयार गर्न दश महिना लागेको बताए। विगत दुईदशकभन्दा बढी समयदेखि उपत्यका तथा भक्तपुर क्षेत्रलाई आधार बनाएर पत्रकारिता गरिरहेका थापाले मध्यपुर क्षेत्रका सम्पदा, कला र संस्कृतिको बारेमा खोज र अनुसन्धान गरेको भन्दै यस क्रममा आफूले मध्यपुरलाई बत्ति मुनीको अध्यारो जस्तै पाएको धारणा राखे।
कार्यक्रममा पत्रकार थापालाई सम्मानसमेत गरिएको थियो।
उनले अब चाडै नै सात वटै प्रदेशको परिचयसहित प्रदेशका प्रमुख पर्यटकीक धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरता समावेश गरेर आउन लागेको जानकारी दिए।
थापाका यसअघि वाईल्ड वेष्ट नेपाल, गन्तव्य कर्णाली, एक्सपोलर फारवेष्ट र कर्णालीसहित चार वटा पुस्तक सार्वजनीक भईसकेका छन्।