जलवायु संकटको आवाज उठाउँदै युएन हाउस पुल्चोक अगाडि वृहत नागरिक समाजले प्रदर्शन गरेको छ।
डाक्टर गोविन्द केसी, नारायण वाग्लेलगायतको सहभागितामा मंगलबार प्रदर्शन भएको हो।
अधिक कार्बन उत्सर्जन गर्ने देशलाई जवाफदेही बनाउन नेपालजस्ता देशले चुस्त कुटनीति अंगाल्नुपर्ने भन्दै सहभागीले कार्बन उत्सर्जन कम गर्न नेपालभित्र सुधारहरू गर्न नेपाल सरकारसमक्ष माग गरेको छ।
धेरै देशहरुले त्यो विपत्ति रोक्न खनिज ऊर्जालाई निरुत्साहित गर्दै ऊर्जाका सफा र नवीकरणीय स्रोतलाई प्रोत्साहन गरिरहेका छन् तर नेपालका सडकहरुमा अहिले पनि पेट्रोल र डिजलले चल्ने साधनहरुको बिगबिगी रहेको उनीहरूले बताएका छन्।
युरोपका धेरै देशले आफ्ना महानगरहरुलाई साइकलका ‘हब’का रुपमा विकसित गर्दै उत्कृष्ट भौतिक पूर्वाधार विकास गर्दा नेपालजस्ता देशमा चाहिं प्रदुषणकारी पेट्रोलियमका साधनहरुको प्रयोग आकाशिंदो रहेकोमा ध्यानाकर्षण गराएका छन्।
आसन्न संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी बैठक सीओपी ट्वेन्टी सिक्समा नेपालजस्ता कार्बन उत्सर्जन कम गर्ने तर जलवायु संकटको जोखिम उच्च भएका देशहरुले विशेष भूमिका खेल्नु आवश्यक हुने सहभागीले भनेका छन्।
संयुक्त राष्ट्रसंघको पछिल्लो महासभामा द्वन्द्वको अन्त, सबैलाई कोभिड भ्याक्सिनको पहुँचलगायत शिक्षा र स्वास्थ्य क्षेत्रका एजेण्डाहरुसमेत राखेर राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन्।
हेर्नुहोस् तस्बिरहरू