अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएपछि कैदीबन्दी आन्दोलित बनेका छन्।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय काटिरहेका गिरीलाई मंगलबार बिहान पाँच बजे मोरङ कारागार ल्याइएको हो।
काठमाडौंको डिल्लीबजार कारागारमा रहेका गिरीलाई मोरङ ल्याएको बिरोधमा कैदीबन्दीले कारागारको छतमा बसेर प्रदर्शन गरिरहेका छन्।
कारागारभित्र भिन्दै साम्राज्य खडा गर्दै विभिन्न अपराधिक गतिविधी गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो। गिरी पुनः मोरङ आएपछि कारागारभित्र खैलाबैला मच्चिएको छ। उनको विगतका गलत हर्कतका कारण कैदीबन्दीले असुरक्षित महसुस गर्दै आन्दोलित भएका हुन्। मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो ।
कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप उनीमाथि छ। उनलाई २०७४ साल चैत २३ गते डिल्ली बजार स्थानान्तरण गरिएको हो।
छोटो समयमै अकूत सम्पत्ति आर्जन गरेको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलाइएको थियो । गिरी लामो समयदेखि विराटनगरलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न थिए। अपहरण मुद्दामा दोषी ठहर भएपछि कैद काट्दै गरेका बेला कांग्रेसका नेताको संरक्षणमा कारागारभित्रैबाट आफ्नो धन्दा चलाउने गरेको पाइएपछि उनलाई मोरङबाट काठमाडौं पठाइएको थियो ।
२ सय ५० पुरुष र ५० महिला गरेर ३ सय कैदीबन्दीको क्षमता रहेको मोरङ कारागारमा अहिले ९ सय ५८ जना कैदीबन्दी छन् ।