काठमाडौंबाट चरेश र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार साँझ काठमाडौं महानगरपालिका वडा नम्बर ३२ नरेफाँटबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
मकवानपुर कैलाश गाउँपालिका वडा १ घर भई हाल बालाजु बस्ने १९ वर्षीय युवराज स्याङ्बो, हेटौंडा घर भई महालक्ष्मीस्थान बस्ने २८ वर्षीय विवेक रूम्बा र जडिबुटीका ३४ वर्षीय अबिनाश राजभण्डारी पक्राउ परेका हुन्।
त्यहाँ लागुऔषध बिक्री गर्न लागेको भन्ने सूचना पाएपछि कोटेश्वर प्रभागबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा टोली खटिएको थियो।
टोलीले खोजी गर्दा तीन जनाबाट चरेश र गाँजा फेला पारेको हो।
प्रहरी उपरीक्षक बस्नेतका अनुसार उनीहरूबाट तीन किलो ४७० ग्राम चरेश र १८० ग्राम गाँजा बरामद गरेको छ। उनीहरूले प्रयोग गर्ने चार वटा फोन पनि प्रहरीले बरामद गरेको हो।
प्रहरीले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।