बैंकको साढे एक करोड रुपैयाँ बढी रकम हिनामिना गरी बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले सिन्धु विकास बैंक लिमिटेड काभ्रे दोलालघाटका शाखा प्रमुख ३१ वर्षीय सुमन खरेललाई पक्राउ गरेको हो।
उनले सो बैंकको एक करोड ७९ लाख ९० हजार ८ सय ५५ रूपैयाँ हिनामिना गरेको आरोप रहेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
सिन्धु बैंकले दैनिक रूपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई सिन्धुपाल्चोकको एनसिसी बैंक बाह्रबिसे शाखामा जम्मा गर्थ्यो।
दैनिक रूपमा जम्मा गर्नुपर्ने सो रकम प्रमुख खरेलले जम्मा नगरेको पाइएको थियो।
एक करोड ७९ लाख ९० हजार ८ सय ५५ रुपैयाँ निकालेर बैंकलाई हानी पुर्याइ सम्पत्ति अपचलन गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरेको हो।
उनीमाथि प्रहरीले बैंकिङ कसूर मुद्दामा अनुसन्धान अघि बढाएको छ। अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।