बहुचर्चित सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले थप सजाय सुनाएको छ।
सोमबार जिल्ला अदालका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई सनमको अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र सनमको परिवारलाई १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।
मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले क्षतिपूर्ति भराउने फैसला अदालतले गरेको हो। सुन तस्करी प्रकरणमा सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले यसअघि नै जन्मकैद फैसला सुनाएको थियो।
असोज १९ गतेको फैसलामा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन। अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैदको सजाय भए पनि जन्मकैदमा जोडिने छैन। दुबै सजाय सँगसँगै अगाडि बढ्ने भएकाले अधिकतम सजाय मात्रै कायम हुने अदालतले जनाएको छ।
गत असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो। सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएकोमा २१ जना अझै फरार छन्।
गोरेसहित ८ जनालाई भने अदालतले शाक्यको हत्या अभियोगमा दोषी ठहर गरेको थियो। न्यायाधीश लम्सालको इजलासले गोरेका सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको फैसला सुनाएको थियो। भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला छ।
२०७४ माघ ९ गते आयात भएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको थियो। तर, तस्करी भएको सुन बरामद भएकोले सो मुद्दामा भने सबैले सफाइ पाएका छन्।