सुदूरपश्चिम सरकारले गत साताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार बेमौसमी वर्षाका कारण परिवारका सदस्य गुमाएका परिवारलाई प्रदेश सरकारले राहत स्वरूप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।
यसैगरी, घर पूर्ण रूपमा क्षति भएको परिवारलाई ५० हजार रुपैयाँ दिने पनि प्रदेश सरकारले निर्णय गरेको मन्त्री जोशीले जानकारी दिइन्।
राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिको खातामा भुक्तानी गरिने छ।
‘उनीहरूलाई राहत स्वरूप एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय भएको छ,’ मृतकको काजकिरियाका लागि थप २० हजार रुपैयाँ दिने निर्णय पनि भएको छ,’ उनले भनिन्।
प्रदेशमा बाढी र पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ। अझै २२ जना बेपत्ता रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।