पाँचथरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।
सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए।
यासोकबाट फिदिम जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। बस खसेर दुर्घटनामा परेपछि ६१ जना घाइते समेत भएका छन्।
बसमा सवार लेटाङ नगरपालिका वडा नम्बर ६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलाम बस्ने ३४ वर्षीया प्रमिला देवान, उनका ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान खुल्न बाँकी महिलाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मगरको पाथीभरा अस्पताल र बाँकी तीन जनाको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
गम्भीर घाइते भएका ११ जनालाई थप उपचारको लागि झापा पठाइएको छ। बाँकीको फिदिमस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ।