रूपन्देही प्रहरीले दुई दिनमा १९ लाख ३५ हजार १६० रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको छ।
बुधबार तीन लाख १५ हजार १६० र बिहीबार १६ लाख २० हजार रूपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो।
बरामद भएका सामग्रीमा खाद्यान्न र लत्ताकपडा छन्। प्रहरीले विभिन्न नाकाबाट भन्सार छलेर नेपाल ल्याइएको उक्त बराबरको सामग्री बरामदपछि भन्सार कार्यालयमै बुझाएको छ।
पछिल्लोसँगै विगत सात महिनाको अवधिमा भन्सार छलीका सामग्रीबाट ५ करोड ९६ लाख ८ हजार ४३७ रूपैयाँ राजश्व असुल भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।
सात महिनामध्ये वैशाख, असार, साउन र असोज महिनामा बढी भन्सार छलीको सामग्री बरामद भएको उनले बताए।
वैशाखमा १ करोड ४ लाख, असारमा १ करोड ५ लाख, साउनमा १ करोड २४ लाख र असोजमा १ करोड ४४ लाख रूपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद भएको केसीले बताए।
भारतसँग सीमा जोडिएका कराण रूपन्देही प्रहरीले सुरक्षा चुनौतीको रूपमा भन्सार छलीलाई राखेको छ।
‘विभिन्न किसिमका भन्सार छलीका प्रकरण देखा परेका छन्, भन्सारबाटै मिलेमतोमा नक्कली प्रज्ञापन पत्र बनाउने गरेको पनि भेटिएको छ,’ केसीले भने, ‘हामीले आक्रामक रूपमा भन्सार छलीमाथि कारबाही चलाइरहेका छौं।’