बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
महोत्तरी भगाहा गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने रामनाथ सिंह पक्राउ परेका हुन्। उनलाई ब्युरोको टोलीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी २०७६ बैशाख १० गते प्रभु बैंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटेर जाहेरवाललाई दिएका थिए।
सो चेक बाउन्स भएपछि पीडितले दिएको जाहेरीमा उच्च अदालत पाटनले २०७७ माघ २० गते उनलाई चार दिन कैद र ११ लाख जरिवाना सजाय सुनाएको थियो।
ब्युरोको विशेष टोलीले फरार प्रतिवादीहरूको खोजी गर्ने क्रममा सिंहलाई कमलपोखरीबाट पक्राउ गरेको हो। उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ।