राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले झापा सुरूंगा कनकाई नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको चाबहिलमा बस्ने ३५ वर्षीय निलम भट्टराईलाई पक्राउ गरेको हो।
उनले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीया पीडितलाई आफू चलचित्र क्षेत्र, राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भनेर चिनाएका थिए।
त्यसकारण आफ्नो पहुँच गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्ने आश्वासन दिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।
उक्त पदमा जागिर खान मन्त्रालयका अधिकारीहरूलाई रकम बुझाउनुपर्ने भन्दै १५ लाख मागेको आरोप छ। त्यसरी प्रलोभनमा पारेपछि भट्टराईले उनीबाट १४ लाख ५० हजार रुपैयाँ लिए।
रकम लिइसकेपछि जागिर पक्का भयो अब ४५ दिने तालिमको लागि सिन्धुली जानुपर्छ भनी पीडितलाई काठमाडौं बोलाए। तर काठमाडौं आएपछि भट्टराई सम्पर्कविहीन भए।
त्यसरी पीडितले आफू ठगिएको थाहा पाएपछि महाशाखामा जाहेरी दिएका थिए।
जाहेरीपछि प्रहरीले भट्टराईलाई सुर्खेतबाट मंगलबार पक्राउ गरेको हो। थप अनुसन्धान गर्न प्रहरीले उनीलाई महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ।