उदयपुरमा खोलाले बगाएर हुलाक कार्यालयका कर्मचारीको मृत्यु भएको छ।
बुधबार उदयपुरगढी गाउँपालिका वडा नम्बर ८ बस्ने ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
उनी अतिरिक्त हुलाक कार्यालय नरेटारका अतिरिक्त पत्र वाहक कर्मचारी हुन्। बुधबार बिहान उनको शव बैजनाथ खोलामा फेला परेको थियो।
प्रहरी नायब उपरीक्षक गौतमका अनुसार उनी मंगलबार साँझ ६ बजे महादेवस्थानस्थित घर फर्किँदै थिए। फर्किने क्रममा बैजनाथ खोलाले उनलाई बगाएको थियो।
उनको शव बगाएको स्थानबाट अन्दाजी एक किलोमिटर तल ढुंगाको चेपमा अड्किएको अवस्थामा फेला परेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाएको जानकारी दिएको छ।