बझाङमा पहिरोले गाउँ पुरिदा बेपत्ता भएका २३ जनाको उद्धारको लागि हेलिकप्टर चैनपुर पुगेको छ।
भर्खरै नेपाली सेनाको हेलिकप्टर देउलेक विमानस्थलमा अवतरण भएको हो।
अब केही छिनमा प्रभावित क्षेत्रमा गएर बेपत्ता भएकाको खोजी गर्ने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।
‘पहिला बेपत्ताको खोजी कार्य गर्ने हो, त्यसपछि बिस्थापित भएकालाई राहत दिने काम गर्ने हो’, उनले भनिन्।
बाढीको बीचमा फसेकाहरुलाई पनि हेलिकप्टरबाटै उद्धार गर्ने तयारी भइरहेको उनले बताइन्।
मंगलबार दिउँसो थलारा गाउँपालिका–४ डिख्लामा गाउँमाथि पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए।
उद्धार टोली अहिलेसम्म घटनास्थल पुगेको छैन।
स्थानीय शिक्षक मदन साउदले २४ घन्टा बितिसक्दा पनि उद्धार टोली नआएको गुनासो गरेका छन्।