कैलालीमा एकै परिवारका दुई जना बाढीमा फसेका छन्।
उनीहरुको उद्धार गर्न सकिएको छैन। मोहन्याल गाउँपालिका ४ खिमडीमा ठूलीगाडको दोभान बीचमा फसेका लोकबहादुर बुढा मगर र उनकी श्रीमती बिरमादेवी बुढा मगरको उद्धारको प्रयास भइरहेको जिल्ला प्रशाशन कार्यालय कैलालीले जनाएको छ।
दुई नदीका बीचमा अस्थायी खेती गर्ने उनीहरु टहरा बनाएर बस्दै आएका छन्। स्थानीय प्रहरी कार्यालयबाट सुरक्षाकर्मी उद्धारको लागि खटिने जिल्ला प्रशाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
सुदूरपश्चिममा आउन लागेको हेलिकप्टरबाट सम्भव भए त्यसैबाट उद्धारका लागि पनि आग्रह गरिने उनले बताए। कैलालीका विभिन्न स्थानमा आइतबार रातीदेखि परिरहेको बर्षाका कारण जलमग्न भएका छन्।
कर्णाली नदीले खतराको तह नाघेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।
जिल्लास्तरको विपद् व्यवस्थापन समितिको बैठक जारी छ। कैलाली हुदै सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक भासुको भीरमा पहिरो खसेका कारण अवरुद्ध भएको छ।
करिब १५ घण्टादेखि सो सडक खण्ड अवरुद्ध हुँदा आवजावत ठप्प रहेको छ। कैलालीबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वका प्रहरी टोली बाटो खुलाउने प्रयास गरिरहेको छ।
कर्णाली र अन्य नदी तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन भनिएको छ भने प्रहरी खटाइएका जोशीले बताए।