बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जना सर्वसाधारणको मंगलबार बिहान सकुशल उद्दार गरिएको छ।
जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीय नाजिर खाँ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ५५ वर्षका सोखत नाउको मंगलबार बिहान पौने आठ बजेतिर सकशुल उद्दार गरिएको जिल्ला प्रहरी कर्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए।
माछा मार्न भनेर गएका उनीहरू अविरल वर्षापछि राप्तीमा एकाएक बाढी आएपछि डुडुवा ५ खजुरास्थित राप्ती नदीको बीच टापुमा बसेर रातभर ज्यान जोगाएका थिए।
डिएसपी न्यौपानेका अनुसार सर्वसाधारण राप्ती नदीको बाढीमा फसेको सूचना पाएपछि प्रहरी उद्दार गर्न भनेर मध्यराति घटनास्थल पुगेको भए पनि उद्दार गर्न नसकेर फर्केको थियो।
‘हामी राति १२ बजेतिर घटनास्थल पुगेको भए पनि रातिमा उद्दार गर्न सम्भव भएन,’ डिएसपी न्यौपानेले भने, ‘टापुमा बसेकाहरूसँग फोन सम्पर्क गर्दा उहाँहरूले आफूहरू रातभर रूखमा बसेर ज्यान जोगाउने र बिहान आएर उद्दार गर्नुहोला भन्ने सल्लाहपछि बिहान रबर बोटबाट उनीहरूको उद्दार गरिएको हो।’
गम्दीभन्दा पाँच किलो मिटर उत्तरमा फसेका उनीहरूलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय वनकट्टीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वाटरबाट खटिएको टोलीले रबर बोटको सहयोगमा उद्दार गरेर ल्याएको डिएसपी न्यौपानेले सेतोपाटीलाई बताए।
स्थानीय राप्ती नदीको बीचमा फसेको सूचना राति नै डुडुवा ४ का वडाध्यक्षले प्रहरीलाई दिएका थिए।
प्रहरी राति घटनास्थल पुगेपछि थप तीन जना भने राति नै पौडिएर आएको डिएसपी न्यौपानेले बताए।
आइतबार दिउँसोदेखिको वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै जान थालेको छ।
राप्ती सोनारी गाउँपालिकाको कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान पानीको बहाव ३ मिटर ४० सेन्टिमिटर पुगेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।