स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको तीन वटा वडामा देखिएको झाडापखला नियन्त्रणमा आइसकेको दाबी गरेको छ।
गत असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र ९ मा झाडापखलाका बिरामी देखिएका थिए। त्यसबेला आठ सय ८५ जना बिरामी थिए।
बिरामीमध्ये शिवराज अस्पतालमा अझै २५ जनाको उपचार जारी छ। हालसम्म आठ सय १९ जना निको भइसकेर घर फर्किएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर स्थानीय, प्रदेश र संघीय सरकार र विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूको समन्वयमा झाडापखाला नियन्त्रणमा ल्याइएको बताएको छ।
झाडापखालाबाट हालसम्म चार जनाको मृत्यु भएको छ।
झाडापखालापछि विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुना लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाइब्रियो कोलेरा र ओगावा भाइरस देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खानेपानी संस्थानले वितरण गरेको पानी र घरघरमा गाडिएका चापाकलको पानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको थियो।
दुषित खानेपानीको प्रयोग र सरसफाइको कमीका कारण झाडापखला फैलिएको मन्त्रालयले जनाएको छ।