सुर्खेतको लादेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेखबाट सुर्खेतका लागि आएको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बर यात्रुबाहक गाडी शनिबार अपराह्न ४ बजेर २५ मिनेटमा दुर्घटनामा परेको हो।
दुर्घटनामा नारायण नगरपालिका–११ दैलेखका १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका –१ की ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
घर्तीका अनुसार दुर्घटनामा परी नौ जना घाइते भएका छन्। घाइतेमध्ये कञ्चनपुरको बेलडाँडी गाउँपलिका–१ की गंगादेवी विकको अवस्था गम्भीर रहेको डिएसपी घर्तीले जानकारी दिए। उनको देउती अस्पतलमा उपचार भइरहेको छ।
अरू आठ जना सामान्य घाइते छन्। उनीहरूमध्ये तीन जनाको कर्णाली प्रदेश अस्पताल, एक जनाको माया नर्सिङ होम र चार जनाको देउती अस्पतालमा उपचार भइरहेको छ।
गाडीमा यात्रु कति थिए भन्ने अझसम्म पनि यकिन हुन सकेको छैन।
‘गाडीका चालक र सहचालक फरार रहेको हुनाले यसबारे खुलेको छैन। अनुसन्धान भइरहेको छ,’ डिएसपी घर्तीले भने।